ठग्ने बहाना थरिथरिका, पत्याउने पनि उस्तै

ठग्ने बहाना थरिथरिका, पत्याउने पनि उस्तै

जेलमा रहेका श्रीमान र देवरलाई छुटाइदिने नाममा रकम ठग्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने इटहरी–१२ का मन्दु भनिने जसबहादुर लिम्बु हुन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागर, तेह्रथुममा थुनामा रहेका सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई मुक्त गराई दिने शर्तमा सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग ३३ लाख रुपैयाँ ठगेको आरोपमा लिम्बुलाई पक्राउ गरिएको हो ।

लिम्बु र इटहरी–१२ कै भरत चौधरीले आफूहरुको न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध रहेकाले भनेजति रकम दिए दुबै जनालाई छुटाइदिने प्रलोभनमा पारेका थिए । प्रलोभनमा परेकी ताराले रकम दिएपछि उनीहरु फरार भएका हुन् । भनेजति रकम दिएपछि पनि श्रीमान र देवर नछुटेपछि उनले प्रहरीमा उजुरी हालेकी हुन् ।

उजुरीपछि लिम्बु र चौधरीको खोजी गरेको प्रहरीले लिम्बुलाई पक्राउ गरेको छ । अर्का आरोपित ठगको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।

टिप्पणीहरू