कमलका मान्छेहरु राप्रपामा को-को छन्,किन अहिल्यै छोडेनन् ?

कमलका मान्छेहरु राप्रपामा को-को छन्,किन अहिल्यै छोडेनन् ?

पूर्वराजा ज्ञानेन्द्र शाहको षड्यन्त्रले अध्यक्षमा पराजित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर पुरानै राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापाले तत्काल आफूनिकटलाई सँगै नलाने नीति बनाएका छन् ।  निर्मल निवास (पूर्वराजा)को प्रत्यक्ष निर्देशनमा आफूलाई योजनावध्द हराइएको भन्दै थापाले अध्यक्ष राजेन्द्र लिङदेनलाई दुई पटकसम्म पत्र लेखेर त्यसको छानविनको माग गरेका थिए ।

तर,आफ्नो माग सम्बोधन गर्न लिङ्गदेन सहमत नभएपछि केही समयअघि गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी परित्यागको घोषणा गरेका थिए । पार्टीबाट एक्लै निस्किएका थापा अहिले राप्रपा नेपालको अध्यक्ष बन्ने तयारीमा छन् ।  गीताको पुस्तक छोएर पार्टी नफुटाउने कसम खाएका थापा पार्टीबाट निस्के पनि उनी पक्षधर राजाराम बर्तौलालगायतका केही नेताबाहेक अरुले राप्रपा छोडेका छैनन् ।

राप्रपा स्रोतका अनुसार थापासँगको छलफल र योजनाअनुसार नै उनी निकटहरुले पार्टी नछोडेका हुन् । थापाले राजतन्त्रको मुध्दा नबोक्ने सार्वजनिक घोषणा गरेकाले विगतमा उनलाई साथ दिएका नेताहरु अहिले रिजर्भ बसेको बताइन्छ । त्यहि बुझेर थापाले पार्टीको राजनीतिक दस्तावेजमा राजतन्त्रसम्बन्धी एजेन्डा थपथाप गरेर ल्याउन लागेका छन् ।

एमसीसीले उत्पन्न गर्ने राजनीतिक परिस्थितिको आंकलन र चुनावको परिणाम हेरेर मात्रै निर्णय गर्नेगरी थापाकै सल्लाहमा उनका मान्छेहरु मूल पार्टीमै बस्ने गरी योजना बनाइएको स्रोतको भनाइ छ ।

कमल थापाकी छोरी प्रतिष्ठा रायमाझी,उनका भतिज तथा गणेश थापाका छोरा अभिषेक लगायत अहिले पनि लिङ्गदेन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्य छन् । त्यस्तै,हाल अमेरिकामा रहेका थापाका सबैभन्दा नजिकका मान्छे प्रेमकुमार श्रेष्ठ पनि कमलको पार्टीमा गैहालेका छैनन् । थापा निकट महामन्त्री कुन्ती शाहीले पनि लिङ्गदेनलाई छोडेकी छैनन् ।

“कमल थापाकी छोरी प्रतिष्ठा रायमाझी,उनका भतिज तथा गणेश थापाका छोरा अभिषेकलगायत अहिले पनि लिङ्गदेन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्य छन् । त्यस्तै,हाल अमेरिकामा रहेका थापाका सबैभन्दा नजिकका मान्छे प्रेमकुमार श्रेष्ठ पनि कमलको पार्टीमा गैहालेका छैनन् ।”

‘कमल थापाले राजसंस्था बोक्ने कि नबोक्ने भनेमा कन्फुजन भएको भएर धेरै हच्केका हुन् । तर, राजसंस्थाको कुरा डकुमेन्टमा मिलाएर जाने तयारी छ भन्ने बुझिन्छ । अनि अन्य राजनीतिक परिस्थितिले पनि होला उहाँका धेरै मान्छेले खुलेर साथ दिन सकेका छैनन्’, राप्रपाका एक नेताले भने।

यता,अध्यक्ष लिङ्गदेनको कार्यशैलीलाई लिएर उनी निकटहरुमै चर्को असन्तुष्टि बढेको छ । ज्ञानेन्द्र शाहीलाई प्रवक्ता बनाउनेदेखि अन्य महत्वपूर्ण निर्णयमा लिङ्गदेनले एकलौटी गरेको भन्दै असन्तुष्ट हुनेहरुको संख्या बढिरहेको छ । त्यस्तै, लिङ्गदेनले कतिपय संस्था र व्यक्तिहरुसंगको एकता गर्दा विधान विपरित महत्वपूर्ण जिम्मेवारी दिन थालेपछि निकटहरु चिढिएका हुन् ।

यता,गत माघमा सम्पन्न राष्ट्रियसभा चुनावमा पार्टीको निर्णय विपरित लिङ्गदेनले जनप्रतिनिधिहरुलाई एमालेमा भोट हाल्न लगाएको भन्दै अर्को बिबाद बाहिरिएको छ । राप्रपाले १ नम्बर प्रदेशमा बाहेक अन्यत्र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो । राष्ट्रियसभा चुनावबारे निर्णय लिन बसेको बैठकले प्रदेश १ मा पार्टी उम्मेदवार अमर बिष्ट र रन्जु प्याकुरेललाई भोट हाल्ने तर अन्य प्रदेशमा निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।

सोहीअनुसार आन्तरिक सर्कुलर पठाएका अध्यक्ष लिङ्गदेनले त्यहि दिन साँझ प्रत्येक मतदातालाई फोन गरेर एमालेको सूर्य चिन्हमा मत हाल्न निर्देशन दिएका थिए । बताइएअनुसार चितवनका नेता बिक्रम पाण्डेको दबाबमा लिङ्गदेन पार्टी निर्णयको मसी सुक्न नपाउँदै अर्को निर्देशन दिन बाध्य भएका हुन् ।

राप्रपा स्रोतले भनेअनुसार एमाले अध्यक्ष केपी ओलीको समर्थनमा चितवनमा प्रचण्डसँग चुनाव लड्ने योजना बनाएका पाण्डेको जोडबलमा सूर्य चिन्हमा भोट हाल्न लगाइएको हो । पाण्डेले पेलेर एमालेलाई भोट हाल्नुपर्यो भनेपछि लिङ्गदेनले आफ्ना मतदाताहरुलाई फोन गरेर मौखिक आदेश दिएको बताइन्छ । रामेछापकी जनप्रतिनिधि रिता माझीले हिजो फेसबुकमा यसबारे लेखेपछि विवाद बाहिर आएको हो ।

टिप्पणीहरू