हेटौंडाका सडक बानियाँ निर्माण सेवाका गाडीद्वारा सखाप
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अत्यधिक ओभरलोडेड ट्रिपरहरुलाई नियन्त्रण नगर्दा हेटौंडालगायतका विभिन्न राजमार्गमा सहज यात्रा गर्न निकै कठिन हुने गरेको छ । मकवानपुरस्थित तीन वटा सिमेन्ट उद्योगमा कच्चापदार्थ चुनढुंगा ढुवानी गर्ने त्यस्ता सवारी साधनले तोकिएको भन्दा निकै धेरै भार बोक्ने गरेका छन् । त्यसरी गुड्ने ट्रिपरबाट ढुंगा खस्ने र बाटोमा हिँडिरहेका मानिस वा गुडिरहेका अन्य साना सवारी साधनमा बजारिने जोखिम बढ्ने गरेको छ । यसबारे पटक पटक जानकारी गराउँदासमेत प्रहरी र ट्राफिकले चासो नदिएको सर्वसाधारणको गुनासो छ ।
हेटौंडा १६ मा रहेको शिवम सिमेन्ट लिमिटेडमा मकवानपुरगढी गाउँपालिका ७ खोटर र ८ को कलवान खानीबाट चुनढुंगा बोकेर गुडेका ट्रिपरहरुको कारण नागरिकले दुःख पाएका धेरै वटा घटना भइसकेका छन् । यसबारे हेटौंडाका स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भएपछि केही समयका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त टिमले चेकिङको बहाना गरेको सञ्चारकर्मीहरुको बुझाइ छ ।
‘किन रोकियो शिखरकटेरीमा ट्राफिक चेकिङ ? अत्यधिक ओभरलोडेड ट्रिपरलाई किन देखेन ट्राफिकले ? त्यस्तालाई कारवाही गर्न किन पछि हट्यो मकवानपुर ट्राफिक ?’
एक दिन चेकिङ गरे पनि महिनामा २९ दिन छुट हुने गरेको समेत स्थानीयको आरोप छ । मकवानपुरगढी गाउँपालिकाबाट ओभरलोडेड ट्रिपरहरु अधिकाँश नेपाली काँग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मकवानपुरका ठेकेदार इन्द्रबहादुर बानियाँको कम्पनीका हुन् । त्यसैले त्यस्ता सवारी साधनलाई छुट वा चेकिङ गरेर पनि कारवाही गर्न नसकेको आरोप लाग्दै आएको छ ।
बानियाँको बानियाँ निर्माण सेवा र बानियाँ नै साझेदार रहेको मोडर्न इन्सफ्रास्ट्रक्चरका ट्रिपरहरुले अत्यधिक भार बोक्दा सडक र जनताले सास्ती भोग्नु परेको हो । मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरी हुँदै हेटौंडा १६ हटियासम्म ढुवानी हुने चुन ढुंगामा शिखरकटेरीमा ड्युटीमा बसेको प्रहरीले देखे पनि नदेखेझैँ गर्ने गरेका छन् । केही साताअघि दैनिक चेकिङ गरी ओभरलोड न्यूनीकरणमा सक्रिय रहेको भनिएकोमा बानियाँ हेटौंडा आएपछि प्रहरीको चेकिङ एकाएक बन्द भएको हो ।
मकवानपुरमा सडकको दुर्दशा देखेपछि सबैले भन्न थालेका छन्, ‘बानियाँलाई चैन,सोझालाई ऐन किन ?’ सर्वसाधारणले सोध्न थालेका छन्, ‘किन रोकियो शिखरकटेरीमा ट्राफिक चेकिङ ? अत्यधिक ओभरलोडेड ट्रिपरलाई किन देखेन ट्राफिकले ? त्यस्तालाई कारवाही गर्न किन पछि हट्यो मकवानपुर ट्राफिक ?’
मकवानपुरगढीको शिखरकटेरी हुँदै दैनिक ४ सयको हाराहारीमा अधिक भार बोकेका ट्रिपरहरु गुड्छन् । तर ट्राफिक प्रहरी ट्रिपरको अगाडि लेखिएको बानियाँ निर्माण सेवा देखेपछि चुप लागेर बसेको स्थानीयको आरोप छ ।
टिप्पणीहरू