रोजाइ आफ्नै हो, वामदेव हुने कि शेरबहादुर ?

रोजाइ आफ्नै हो, वामदेव हुने कि शेरबहादुर ?

महाकाली सन्धि राष्ट्रघात नै हो भनेर पार्टी विभाजन गरेका नेकपा मालेका तत्कालीन महासचिव वामदेव गौतमको राजनीतिक हैसियत र वरियता अहिले कहाँ छ ? असन्तुष्टिकै कारण उस्तै उस्तै समय पारेर वामदेवसँगै पार्टी विभाजन गरेका शेरबहादुर देउवाले दुई पटक गिरिजाबाबुसँग, सुशील कोइरालासँग, रामचन्द्र पौडेलसँग र अहिले शेखर कोइरालासँग महाधिवेशनहरू लड्दै त्यही रामचन्द्र पौडेललाई महाधिवेशनमा भोट हाल्न नजाने बनाउने काममा कति कष्ट झेल्नुभयो होला ?

पार्टी घोषणा भएको ९७ दिन ७३ जिल्लाभन्दा बढी कमिटी र काठमाडौँका वडासम्म प्रमुख अतिथि भएर माधवकुमार नेपालले संगठन निर्माण गरिरहँदा आज ‘राष्ट्रवादी’ देखिएका कमरेडहरू भर्चुअल बैठकमा बोलिरहनु भएको थियो । एमसीसी अध्ययन समिति, सुझाव समितिलगायत हिजो केपी ओलीले बनाएका समितिमा रहेर काम गरिरहनु भएका कमरेडहरूलाई थाहा हुनुपर्ने हो, एमालेसँग मिलेर एमसीसी पारित भए सभामुख र १४ सांसद बर्खास्तसँगै सिंगो व्यवस्थालाई चुनौती दिने चक्रव्युहमा सफल भइरहेका केपी ओलीद्वारा सुरक्षित होइन्थ्यो या भौतिक आक्रमण खेप्न तयार बनिन्थ्यो ?

मिडियाहरूले लेखेका छन्, युक्रेनमा एक युवाले रुसी सैन्य ट्यांक आउन नदिन बम बोकेर पुलमा गए र आफूसँगै पुल पनि उडाए । त्यो आत्मघात नै त्यहाँको राष्ट्रवाद भनेर संसारभर रुसविरोधीहरूले भनिरहेका थिए । नेपालमा एमसीसी अनुमोदनसहित पारित गर्ने र सामान्य विकास साझेदार मान्ने भन्ने अवधारणाबीच सभामुख र १४ सांसदहरूमाथि एमालेले लगातार गरिरहेको आक्रमण फेरि एकपटक नाकाम भएको छ, जसरी शेरबहादुर देउवा र वामदेव गौतमले उही–उही समय पारेर पार्टी विभाजन गर्दै राजनीतिक यात्रा गरिरहँदा आज नदेखिने वामदेव र देखिने शेरबहादुरबीचको भिन्नता नेपाली जनताले अनुभूत गरिरहेका छन् ।

एकातिर गोकुल, विष्णु, सूर्य, गुरु लगाएर माधव र प्रचण्डहरूको सत्तोसराप जारी छ, अर्कातिर सुरेन्द्र पाण्डेहरूलाई पठाएर स्थानीय निर्वाचनमा चैँ माधव नेपालको समाजवादीले साथ दिए एमालेले जित्ने ठाउँहरू सुरक्षित रहन्थ्यो भन्दै कार्यकर्ताहरू कम जुध, भोलि मिल्नुपर्छ भन्ने लाइनमा थामथुम पार्न खोजिएको छ । अनि त्यहीँ लालबाबु, योगेशहरू कराइरहँदा मौजुदा पदमा पनि उनका पक्षधरहरू कायम रहन सकिरहेका छैनन् ।

प्रहरीले वारेन्ट जारी गरेका बलात्कार आरोपी मोहन बानियाँजस्ता सांसदहरू बोकेर ‘माधव नेपालको मुख पनि हेर्दिनँ’ भन्ने जनताको बहुदलीय जनवादभित्र हुर्किइरहेको भ्रष्टाचार, गुण्डागर्दी, डर, त्रास, धम्की, फसाइदिने, सिध्याइदिने उर्दीले कैयौँ एमालेजन नै यतिखेर त्राहीमाम छन् । यस्तो अवस्थामा शेरबहादुर देउवाले उनै ओली देखाएर प्रचण्ड र माधवलाई गलाए भन्नेहरू पनि टन्नै छन् ।

एमसीसी नआउँदै सडकमा देखिएको शक्ति र जनतामा बढेको सुझबुझले भन्छ कि, यसपटक एमसीसीको मुद्दाका कारण धेरैलाई जनतामा जाँदा ‘आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने’ हुन सक्छ । तर, यसभित्र लुकेको तथ्य के थियो भने, जसरी कृष्णबहादुर महरालाई रोशनी काण्ड लाग्यो, त्यसैगरी ज्यानकाण्डमा अग्नि सापकोटालाई फसाउने तागत नाकाम भयो । कांग्रेसको बुइ चढेर यो काम फत्ते हुन्छ कि भन्ने आशामा एमालेले कांग्रेसलाई फकाउन सक्थ्यो ।

तर हरेक दिन, अरु सबै एकतिर, एमाले एक्लै हुलका हुल भन्ने बोलीले प्रचण्ड र माधवको गठबन्धनसँगै पहिलो पार्टी हुने सपनामा रहेको कांग्रेस किन सजिलै एमालेसँग गल्थ्यो र ? एमालेभन्दा थोरै सांसद भए पनि सहज र अनुकूल हुने प्रचण्ड–माधव गठबन्धन नै कांग्रेसका लागि पर्याप्त थियो । यद्यपि, गगन थापाहरू गठबन्धन छाडेर किन नगएको भन्दै बुख्याँचाले चरा धपाए झैँ भ्रममै थिए ।

राजनीति सजिलो बाटो हिँड्दैन । जस्तो हिजो जे निर्णय ल्याए पनि सदर गरिदिन्छु भन्ने चोलेन्द्रसमशेर राणालाई कांग्रेसकै प्रस्तावमा महाभियोग लाग्छ भन्ने कल्पना चोलेन्द्र र कांग्रेसजनमा पनि थिएन होला । तर, एमाले र शम्भु थापाहरूको त्यो खेल बेलैमा थाहा पाएर गठबन्धनले प्रधानन्यायाधीशलाई घर पठाउँदा एमालेको अर्को उपद्रो थियो, बाँकी न्यायाधीशलाई पनि एमालेले महाअभियोग लगाउँछ, हरिकृष्ण कार्की न्यायाधीश भएपछि एमाले छाडेका माधव नेपालसहित १४ जना न समाजवादी, न सांसद रहन्छन् भनेर केही एसएलसी पास पत्रकारले सोह्रैआना ठीक हो भनेर निकै लेखे ।

महाअभियोग लगाउन दुई तिहाइ चाहिन्छ, एमालेसँग छैन भन्ने सामान्य गणित नजानेका पत्रकारले पनि माधव नेपालको पछि लाग्नेहरू सकिए भने । हो कि क्या हो भनेर केही समाजवादी ‘सुगरका रोग देखाएर’ भिजेको कपडाहरूको इज्जत जोगाउनतिर लागे । कान छाम्न छाडेर काग खोज्नेहरू पनि समाजवादीमा छन्, एमाले चिल देखाएर कुखुरा भगाउने स्याल हो भन्ने थाहा हुँदाहुँदै पनि पत्याइखाने कमरेडहरूलाई समाजवादीमा झन् ‘राष्ट्रवादी’ देख्दा कार्यकर्ता जिब्रो टोकिरहेका छन् ।

सभामुख हटाउने र माधव नेपालसहित १४ सांसदलाई डाँडा कटाउने अनि ४ वटा प्रदेश सरकार फिर्ता पाउने । एमालेजनको प्रस्ताव पनि कति कति ? पछिल्लोपटक एमाले गल्दै ‘र’ अथवा ‘वा’ मा पुगिसकेको थियो । उनीहरूको आशामा थिए एउटा हरिकृष्ण कार्की । त्यो पनि कति वटा काका मरेपछि अंश अपुताली पर्ने भतिजाको भूमिकामा । एमाले त्यही देखाएर कांग्रेससँग ‘झक’ मारिरहेको थियो । हिजो संसदमा चर्को कुरा गर्ने गगन थापा र त्यसको झन् चर्को जवाफ दिने केपी ओली यतिखेर एकाकार थिए । गठबन्धनको मर्म नबुझी ओलीसँग लोली मिलाएर गगनले गरेको एमसीसीको वकालत ठीकै होला तर गठबन्धनविनै म जित्छु भन्ने उनको घमण्डमा पनि जनताले केही मरमसला गर्लान् नै, आखिर उनी पनि बाख्रा व्यापारी कि किसान भन्ने सुनेको छु, बाख्रालाई मसला जरुरी नै हुन्छ ।

मूल कुरो, हामी एजेण्डामा छौँ कि इस्युमा ? इस्युमा छौँ कि इन्ट्रेस्टमा ? कसैका निजी चाहना, रुची पूरा गर्न सिंगो व्यवस्थाको जुवा खेल्ने हिम्मत कोसँग ? त्यही रुचि राख्दा ज्ञानेन्द्र आज कहाँ छन् ? केपी ओली बालकोटमा छन्, कमल थापा जिरोबाट शुरु गर्दै छन् । सुन्छु, विप्लव नेतृत्वको सोमबारे बन्दमा ३४ दलको सहभागिता थियो रे ! देशमा दुई दल भए पुग्छ भनेर नेपाली जनताले नेकपा र कांग्रेसलाई भारी मत दिएका होइनन् र ? साढे ३ वर्ष दुई तिहाइ बहुमतको सरकार चलाउँदा प्रचण्ड, माधव, शेरबहादुरले टुलुटुलु हेरेर चित्त बुझाएका होइनन् र ?

वडा सदस्यदेखि राष्ट्रपतिसम्म केपी ओलीको इशारामा नाचेकै होइन र ? खोइ त केपी ओलीले त्यो प्रणाली संस्थागत गरेको ? अनि एमसीसीलाई सामान्य विकास साझेदार मान्नुपर्नेमा सुरक्षा रणनीति बनाएर राजनीति गिजोल्दै यो चक्रव्युहमा पर्दा नेकपा फुटेर एमाले र माओवादी अनि एमाले फुटेर समाजवादी भएको कुरा केपी ओली र उनका ज्ञात अज्ञात सकल दर्जालाई अनुभूत छैन र ? कुन मुख देखाएर उनी भनिरहेका छन्, ‘माधव नेपालको मुखै हेर्दिनँ, उनीसहित १४ जना र सभामुख हटाउने भए एमसीसी पास हुन्छ ।’

यहाँनिर त्यही कुरा दोहो¥याउन चाहेँ, जसरी आफ्नै देशको पुल र आफूलाई सिध्याएर युक्रेनमा एक नागरिकले गरेको आत्मघात राष्ट्रवाद भयो, त्यसैगरी एमसीसी केपी ओलीको हुबहु चाहनाविपरीत पारित गरेर गठबन्धनले गरेको काम तत्काललाई ‘आत्मघात’ होला । अब राष्ट्रवादको नारा बोक्दै जनतामा गएर भ्लादिमिर पुटिनझैँ प्रगति गर्न एमालेलाई सुनौलो अवसर पनि हो, होइन भने वामदेव गौतम हुन कसले रोक्ने ? केपी ओलीले गरेका राजनीतिक, सरकारी संयन्त्र र सिंगो व्यवस्थाप्रतिको भाँडभैलो नै एमसीसी हो भने यतिखेर राजनीतिमा जो भए पनि विकल्प त्यही थियोः वामदेव हुने कि शेरबहादुर ?

शेरबहादुरले पुष्टि गरिदिए कि, संसद कुन्नि के देखाएर बाख्राको मासु बेच्ने ठाउँ हो । केपी ओलीले वामदेव सोत्तर पारिदिए झैँ शेरबहादुरले ओली देखाएर एमसीसी पारित गरे । तत्काललाई यो राष्ट्रघातको घाउ महाकाली झैँ चर्किरहनेछ तर नेपाली जनता यति चाँडै बिर्सन्छन् कि, महाकाली सन्धि राष्ट्रघात हो भनेर हिम्मत गर्नेहरूलाई अन्त्यमा ‘वामदेव’ बनाइदिन्छन्, त्यही बाटोमा एमालेको यात्रा छ, सुरेन्द्र पाण्डेहरू रोक्न बलै गर्दैनन्, एक्ला भीम रावलले के सक्लान् ?

टिप्पणीहरू