आँखामा खुर्सानीको धुलो छरेर ४२ तोला सुन, १२ लाख नगद लुटियो

आँखामा खुर्सानीको धुलो छरेर ४२ तोला सुन, १२ लाख नगद लुटियो

प्रहरीले काठमाडौंमा आँखामा खुर्सानीको धुलो छरेर लुटपाट गर्ने दुई जनालाई समातेको छ । दाङ सौडियार गाउँपालिका–६ घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले केही दिनअघि साँझमा चाबहिलस्थित ओम शाही टच सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय अमोल भोस्लेमाथि लुटपाट गरेका थिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पसल बन्द गरेर ४२ तोला सुन तथा नगद १२ लाख लिई घर–कोठा फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक भोस्ले लुटपाटमा परेका हुन् । उनीहरु आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरेपछि सुन तथा नगद राखिएको झोला लुटेर फरार भएका थिए ।

पक्राउ परेका विश्वकर्माको साथबाट घटनामा प्रयोग भएको बा. ७४ प ९५६० नम्बरको मोटरसाइकल र नगद ६६ हजार बरामद गरिएको छ । यस्तै सिनको साथबाट रा.४ प ११२० नम्बरको मोटरसाइकल र २६१ ग्राम सुन, एक लाख रुपैयाँ, खुँडा बरामद गरिएको प्रहरीले बताएको छ ।

उक्त घटनाको सम्बन्धमा मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू