महिलाको ४५ लाख लिएर भागे पनि..
भक्तपुरको जग्गा बेच्न बैना गरेको रकम लिएर फरार भएका धुुलिखेलका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे प्रहरीको फन्दामा परेका छन् । उनलाई प्रहरीले दरबारमार्गबाट समातेको हो ।
घिमिरेले मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया महिलासँग जग्गा बिक्रीवापत ४५ लाख ५० हजार बैना लिएका र भक्तपुरमा दर्ता स्रेस्ता रहेको साविक दुवाकोट गाविस–१ को जग्गा २१ लाख रुपैयाँको दरले ४ आना नापजाँच गरी राजीनामा पास गरिदिने विश्वास दिलाएका थिए ।
सोही विश्वासमा परेर महिलाले विभिन्न बैंकको चेकबाट पटक पटक गरी ४५ लाख ५० हजार रुपैयाँ दिएपछि उनी एकाएक बेपत्ता भए ।
उनै घिमिरेलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको टोलीले आज दरबारमार्गबाट समातेको हो । उनलाई अनुसन्धानको निम्ति अहिले महानगरीय प्रहरी परिसर,टेकुमा राखिएको छ ।
टिप्पणीहरू