पुरुष सदस्य भारतको अस्पतालमा, गरगहना लुटियो यता घरमा
सप्तरीमा अज्ञात समुहले लुटपाट गरेको छ । सुरुङ्गा नगरपालिका ७ स्थित मिथिलेश मिश्रको घरमा गएराति लुटपाट भएको हो । दुई जना महिला मात्र घरमा भएको अवस्थामा आधा दर्जन लुटेराले लुटपाट गरेका हुन् ।
घरका पुरुषहरु उपचारकालागि भारत गएको र सोही मौका छोपेर लुटपाट गरिएको हुनसक्ने आशंका गरिएको छ । लुटेराहरुले गएराति करिब ३ बजेको समयमा बन्दुक र खुकुरी देखाएर छ लाख रुपैयाँ बराबरको गरगहना लुटेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।
जनआस्थालाई जानकारी दिँदै कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले बन्दुक बोकेको जस्ता मानिस देखेको भन्दै पीडित पक्षले उजुरी गरेको बताउनुभयो । तर, उक्त बन्दुक नक्कली हुनसक्ने प्रहरीको अनुमान छ । ‘चोर्दा मानिसलाई आतंकति पार्ने उद्देश्यले नक्कली बन्दुक पनि बोकेको हुनसक्छ,’ सिंहले भन्नुभयो ।
नकावधारी समूहले नगद भने लुटेको छैन । लुटेराहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । अज्ञात समूहका दुई जनाले घरभित्र गएर लुटेका थिए भने अन्यले बाहिरबसेर सुराकी गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएको छ ।
टिप्पणीहरू