विमान सफा गर्ने कर्मचारी र सुपरभाइजर सुन तस्करीमा संलग्न

विमान सफा गर्ने कर्मचारी र सुपरभाइजर सुन तस्करीमा संलग्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेको आरोपमा पाँच जना समातिएका छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारीसहित उनीहरुलाई दुई केजी तीन सय ३२ ग्राम सुनसहित प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी हुन् । तीनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

यस्तै, राजेश राई र ट्याक्सी चालक हेम बहादुर थापालाई पनि नियन्त्रणमा लिइएको विमानस्थलका प्रहरी प्रवक्ता हिमालयकुमार श्रेष्ठले बताए ।

उनीहरुले हिमालय एयलाइन्सको विमानभित्रको शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । सोही क्रममा उनीहरुलाई चेकजाँच गर्दा उक्त सुन फेला परेको हो ।

उनीहरु पाँचै जनालाई बरामद सुनसहित कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

टिप्पणीहरू