लागूऔषध ओसार्नेको ओइरो
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । काठ्माडौंको बूढानिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने तुलबहादुर ढकाललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीका आधारमा खटिएका प्रहरी टोलीले उनलाई डेराबाटै समातेको हो । सिराकले छोपी जेब्राभित्र लुकाई राखेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट ड्याइजेपाम एकहजार २० ग्राम, नुफिन ८५५ थान, फेनेर्गन ८५० ग्राम बरामद गरिएको छ ।
कार्यालयले उनलाई थप आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त, महाराजगंज पठाएको छ । त्यसैगरी, काठ्माडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा एकजना भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् ।
आज बिहान वीरगंजबाट काठ्माडौं आउदै गरेको ना ७ ख २०१९ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा भारतको मोतिहारी बस्ने दिपेन्द्रकुमार भगत लागूऔषधसहित फेला परेका हुन् ।
उनको साथबाट ब्राउनसुगरजस्तै देखिने खैरो रङको ९ पोका १०३ ग्राम र सेतो रंगको १ पोका ४ ग्राम गरी जम्मा १०७ ग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि बरामद लागूऔषधसहित उनलाई महानगरीय प्रहरी बृत्त थानकोट पठाइएको छ ।
टिप्पणीहरू