इम्बोस्ड नम्बर प्लेटमा डरलाग्दो चलखेल,राजधानीमा इम्बोइस्ड बिरुध्द मसाल जुलुस

इम्बोस्ड नम्बर प्लेटमा डरलाग्दो चलखेल,राजधानीमा इम्बोइस्ड बिरुध्द मसाल जुलुस

सरकारले सबै सवारी साधनमा इम्बोइस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । यातायात व्यवस्था विभागले आगामी साउन १ गतेदेखि यस्तो प्लेट अनिवार्य गरेको हो । इम्बोस्ड नम्बर प्लेट नराखे ट्राफिक प्रहरीले अनुगमन गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

उक्त चेतावनीलाई सर्वसाधारणले सरकारले जबरजस्ती सवारीसाधन प्रयोगकर्तामाथि आफ्नो निर्णय लाद्न खोजेको रुपमा बुझेका छन् । यसको सर्वत्र आलोचनासमेत भइरहेको छ । अनुगमन गर्ने उपकरण नै जडान नगरी विभागले किन इम्बोस्ड नम्बर प्लेट जडान गर्न दबाब दिइरहेको छ ? भन्ने प्रश्न पनि उब्जिएको छ ।

नेपाली भाषा र देवनागिरी लिपी मास्ने षड्यन्त्रका साथ राज्यका प्रमुख निकायहरु नै उर्लिएको चर्को आरोप पनि लागेको छ । चलनचल्तीमा रहेको देवनागिरी लिपीलाई विस्थापित गरेर अंग्रेजी भाषामा इम्बोइस्ड नम्बर प्लेट जडान गर्न केही निकायहरु जोडतोडका साथ लागिपरेपछि उक्त आरोप लागेको हो । जबरजस्ती इम्बोइस्ड नम्बर प्लेट जडान गर्न दिइएको दबाबलाई शंकाको दृष्टिकोणले हेरिएको छ ।

“कूल १३ अर्ब ३१ करोड १९ लाख सात हजार ३०० रुपैयाँ खर्च हुने हिसाब निकालिएको छ ।”

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको योजनामा उक्त निर्णयलाई अघि सारिएको बुझिन्छ । विवादित छविका पौडेललाई गत जेठ १६ गतेको क्याबिनेट बैठकले पुनः केन्द्रको हाकिम नियुक्ति गरेको छ । पौडेल यसअघि पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कार्यकालमा ७० करोड रुपैयाँ घुस काण्डमा मुछिएका थिए ।

सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद काण्डमा एक जना एजेन्टसँग सञ्चार मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँ डिल गरेको अडियो त्यसबेला बाहिरिँदा पौडेलको नामसमेत मुछिएको हो ।

नेपालभर ४८ लाख ८२ हजार २६७ वटा सवारीसाधन छन् । तीमध्ये दुई लाख २६ हजार ९४० वटा ठूला सवारी साधनमा इम्बोइस्ड नम्बर प्लेट जडान गर्दा ८१ करोड ६९ लाख ८४ हजार रुपैयाँ लाग्ने देखिन्छ ।
त्यस्ता सवारी साधनमा लगाइने नम्बर प्लेटको ३६ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी, पाँच लाख ८३ हजार आठ साना सवारी साधनका लागि ३२ सयका दरले एक अर्ब ८६ करोड ५६ लाख २५ हजार ६०० रुपैयाँ विदेशिने पक्का छ । २९ सय रुपैयाँका दरले एक लाख ३१ हजार ८६१ तीन पाङ्ग्रेका लागि ३८ करोड २३ लाख ९६ हजार ९०० र ३९ लाख ४० हजार ४५८ दुई पाङग्रेका निम्ति २६ सयका दरले १० अर्ब २४ करोड ५१ लाख ९० हजार ८०० रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

कूल १३ अर्ब ३१ करोड १९ लाख सात हजार ३०० रुपैयाँ खर्च हुने हिसाब निकालिएको छ । सरकारले लागु गर्न खोजेको इम्बोइस्ड नम्बर प्लेटको विरोधमा आज साँझ राजधानीको अनामनगर क्षेत्रमा मसाल जुलुस निकालिएको छ ।

उनीहरुले १३ अर्बभन्दा धेरै रकम माफियालाई बुझाउने सरकारको खेलविरुद्ध भेला र जुलुसको आयोजना गरिएको बताएका छन् । सवारी साधनको नम्बर प्लेट नेपालीमा नै हुनुपर्ने र यसको सबै जानकारी यातायात कार्यालय र नेपाल प्रहरीलाई मात्र हुनुपर्ने मसाल जुलुसका आयोजकले बताएका छन् ।

टिप्पणीहरू