माओवादीले सांस्कृतिक रुपान्तरणलाई विशेष महत्व दिने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न केन्द्रीय कमिटी बैठकबाट सांस्कृतिक रुपान्तरणको पक्षमा महत्वपूर्ण निर्णय हुने बताउनुभएको छ ।
कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो । ‘आजदेखि निकै उत्साहपूर्णरुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’, प्रचण्डले भन्नुभयो, ‘हामी रुपान्तरण र पुनर्निर्माणको अभियानमा जाँदैछौं, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।’
पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहित कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उहाँले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने बताउनुभयो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई त्यहिअनुरुप विशेष महत्व दिइएको उहाँको भनाई छ ।
पार्टी र राज्यसत्ता दुबैतिर सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने प्रचण्डको भनाई छ । ‘राज्यसत्तामा अझै पनि एकीकृत, केन्द्रिकृत र एकल संस्कृतीय सोंच हावी छ’, उहाँले भन्नुभयो, ‘हामीले जसरी राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौं तर सांस्कृतिक रुपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानुन निर्माणबाट मात्रै संभव हुने कुरा होइन, यो आम मानिसको सोंच र चिन्तनसँग पनि सम्बन्धित हुने भएकाले सोंच र चिन्तन बदल्न अझै धेरै मेहनत गर्न आवश्यक छ ।’
पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्नेमा जोड दिनुभयो । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने पनि उहाँले बताउनुभयो ।
टिप्पणीहरू