काठमाडौँदेखि यसरी गइन्छ काशीसम्म
जीवनको गहिराइ आत्मिक अनुभूतिमा छ र यो अनुभव कहिलेकाहीँ यात्रामार्फत झनै प्रखर बन्छ । यस्तै थियो— काठमाडाैँदेखि काशीसम्मको हाम्रो यात्रा । यो ६ दिने यात्राले धार्मिक आस्था मात्र नभई सांस्कृतिक र ऐतिहासिक सम्पदाको सुवोध पनि उजागर गरेको छ । २२ नोभेम्बर २०२४ (वि.सं. २०८१ मंसिर ७) मा काठमाडौँबाट यात्रा शुरु भयो । तीन परिवार—दिवाकरभक्त र विद्या खरेल, वसुन्धरा थापा, अमोघ धिताल र मीरा धिताल सहभागी थियौं । उद्देश्य उत्तर प्रदेश राज्यका धार्मिक र सांस्कृतिक स्थल अवलोकन गर्नु थियो ।
हाम्रो यात्रा काठमाडाैँबाट भैरहवा हुँदै भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्याको पावन भूमि पुगेर शुरु भयो । रामायणमा वर्णित यो स्थलमा श्रीरामको बालस्वरूप रामलल्लाको दर्शन पाउँदा आत्मिक उल्लासको अनुभूति भयो । नागरा शैलीको निर्माणमा रहेको राम मन्दिर अहिले पुनर्निर्माण प्रक्रियामा छ, तर त्यसको भव्यता भने स्पष्ट झल्किन्थ्यो ।
अयोध्याका गल्लीहरू, रामको जीवनसँग सम्बन्धित कथाले भरिपूर्ण थिए । यहाँको वातावरणमा धार्मिकता र सांस्कृतिक समृद्धिको गहिराइ अनुभव गर्न सकिन्थ्यो । राम र सीताको वनवासका दृश्य जीवितझैँ लाग्ने चित्रकुट पनि सूचीमा थियो, जुन अयोध्याबाट १२३ किलोमिटर टाढा रहेछ । अयोध्याबाट यात्रा गर्दै दोस्रो दिन प्रयागराज पुग्यौं । तीन पवित्र नदी—गंगा, यमुना र अदृश्य सरस्वतीको संगमले यो स्थललाई विशेष बनाएको छ । पुराण र महाभारतमा उल्लिखित यो स्थल हिन्दू धर्मावलम्बीका लागि परम पवित्र मानिन्छ । ‘भनिन्छ, जसरी ग्रहमा सूर्य र ताराहरूमा चन्द्रमा प्रमुख छन् त्यसैगरी सबै तीर्थमा प्रयाग श्रेष्ठ छन् ।’
यहाँको विशेष अनुभव थियो गंगाको शीतल जलमा स्नान गर्नु । डुंगाबाट संगममा स्नान गर्दा मन एक अनुपम शान्तिमा डुबेको महसुस भयो । प्राचीन सभ्यता र धार्मिक परम्पराको जीवन्त केन्द्रका रूपमा परिचित काशी शहरले मनमा गहिरो प्रभाव पार्यो । गंगा किनारका घाट, काशी विश्वनाथ मन्दिर र विविध धार्मिक स्थलले यहाँको ऐतिहासिक र सांस्कृतिक महत्वलाई झल्काउँछन् । काशी विश्वनाथ मन्दिरमा गरिएको दर्शन अविष्मरणीय रह्यो !
यहाँ वैष्णव र शैव परम्पराहरूको सह–अस्तित्वले हिन्दू धर्मको विविधता र समृद्धिको झल्को दियो । साँझ दशाश्वमेध घाटमा हुने गंगा आरतीले आत्मालाई अनौठो आनन्दले भर्यो । गंगा किनारका घाटहरूको अवलोकन गर्दै अस्सी घाट, मणिकर्णिका घाट र रामनगर किल्लासम्म पुग्यौं । मणिकर्णिका घाट नेपालीहरूका लागि श्राद्ध गर्न र अन्त्येष्टि गर्न भारत सरकारले लालमोहर लगाएको ठाउँ रहेछ । यसरी प्रत्येक स्थानले भिन्न–भिन्न कथा र महत्व बोकेको थियो ।
६ दिनमा धर्म, संस्कृति र सभ्यताको अद्भूत संयोजन अनुभव गर्ने अवसर पायौं । अयोध्याको पवित्रता, प्रयागराजको संगम, र काशीको अध्यात्मिक शान्तिले बाहिरी संसार र आत्मिक गहिराइबीचको सन्तुलन बुझ्न प्रेरित ग¥यो । यो यात्रा स्थलहरूको अवलोकन मात्र थिएन, यो हाम्रो आत्माको पवित्र यात्राजस्तै थियो । काशीमा देखेको गंगा आरतीको ज्योति आज पनि हृदयमा झल्मलाइरहेको छ । जसरी गंगा नदी जीवनप्रवाहको प्रतीक हो, त्यस्तै हामी पनि यस यात्राबाट प्रेरणा र सन्तोष लिएर जीवनको धारमा अघि बढ्न तयार भयौं ।
टिप्पणीहरू