आफ्ना अरु नेतामाथि पनि यस्तरी खनिनुभयो ओली !

भारतीय निम्तो र ठाउँठाउँमा गलत पात्रको नियुक्तिबारे छलफल भरमार

आफ्ना अरु नेतामाथि पनि यस्तरी खनिनुभयो ओली !
सुन्नुहोस्

अध्यक्षले उपमहासचिवलाई ‘हैन त गुरु’ भन्दै घोचपेच गर्दा अप्ठेरो महसुस गरेका नेताहरू महासचिव लक्ष्यित टिप्पणी सुनेर झन् छक्क परे । पूर्व परराष्ट्र तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीलाई ‘हेपाहा शैली’मा पटक–पटक ‘गुरु’ संबोधन गर्नुभएका अध्यक्ष केपी शर्मा ओलीले सरकारी नियुक्तिलाई ‘हरूवा व्यवस्थापनको थलो’ बनाइएको भन्दै महासचिव शंकरमाथि कटाक्ष गर्नुभयो । डाक्टर भीम रावललाई पार्टीबाट निकाल्ने र दुई नेतृलाई ६ महिना निलम्बन गर्ने निर्णयअघि सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठकमा यस्तो देखिएको हो । 

दशौँ महाधिवेशनयता अध्यक्षको ‘एकल साँझ’ चल्दै आएको एमालेभित्र गत बुधबारको सचिवालय बैठकमा भने फरक दृश्य देखियो । महासचिव शंकरले एजेण्डा प्रस्तुत गर्दै आठ मीनेटजति धारणा राखेपछि शुरु भएको बैठक पूर्णतः कारवाही केन्द्रित थियो । शुरुमा रावललाई सदस्यबाट हटाउने र स्थायी समिति सदस्य डा.विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको पद घटुवा गर्ने प्रस्ताव थियो । तर, १८ सदस्यीय सचिवालयका बहुमत नेता विपक्षमा उभिएपछि छलफल लम्बियो । 

अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर, उपमहासचिव विष्णु रिमाल, सचिवद्वय पद्मा अर्याल र रघुवीर महासेठ कारवाही गरेरै छाड्ने अडानमा रहँदा ‘दश भाइ समूह’का नेता मात्र हैन आफूलाई ‘रैथाने एमाले’ ठान्ने ओलीनिकट उपमहासचिव ज्ञवाली, पिएस गुरुङलगायत विपक्षमा उभिए । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले पनि भीम रावललाई निश्कासन गर्न नहुने धारणा राखे । पाण्डे र तिम्सिनाको हकमा बोलाएर सम्झाउन सुझाव दिँदै कारवाहीको तहमा पुग्न नहुने उनीहरूको राय थियो । 

तर, अध्यक्ष ओलीले जे चाह्यो त्यही हुने अवस्थामा रहेको बैठकले रावलको पार्टी सदस्यता खोस्नुका साथै पाण्डे र तिम्सिनालाई ६–६ महिना निलम्बनमा राख्ने निर्णय गर्‍यो । कारवाहीको विपक्षमा धारणा राख्ने नेताहरूले निर्णयमा फरक मत लेख्ने हिम्मत गरेनन् । 

तीन नेतामाथि कारवाही गर्नुअघि बैठकको परिदृश्य कस्तो रह्यो ? सार्वजनिक भइसकेकै विषय हो । तर, बाहिर नआएको कुरा, त्यसदिन अध्यक्ष ओली केही नेताको नामै लिएर घोचपेचको शैलीमा प्रस्तुत हुनुभएको थियो । सधैँझैं बैठकमा लामो मन्तव्य राख्नुभएका उहाँले पार्टीमा अराजकता र अनुशासनहीनता बढ्नुमा सचिवालयकै नेताहरू जिम्मेवार रहेको आशयमा भनाइ राखेको एक जना सचिवालय सदस्यले जनआस्थालाई बताए । ‘उहाँको हाउभाउ हेर्दा प्रदीप ज्ञवाली र शंकर पोखरेलप्रति लक्ष्यित हो कि भन्ने देखिन्थ्यो’, उनले भने । 

कतिसम्म भने केही नेताले पैसा खाएर खराब मान्छेलाई सरकारी नियुक्तिमा सिफारिस गरेकोसम्म भन्नुभयो अध्यक्ष ओलीले । ‘यौटा पनि मान्छे असल छैन, राजनीतिक नियुक्ति पाएकाहरू सबै असक्षम छन्,’ उहाँको भनाइ उद्धृत गर्दै उनै नेताले भने, ‘नेताहरूले नै खराब मान्छेलाई बोकेर हिँडेपछि के गर्नु !’

गलत मान्छेलाई नियुक्ति दिलाउन पार्टीले दबाब दिएको आशयमा कुरा उठेपछि एक नेताले ‘सरकारी मेकानिज्मले कन्ट्रोल गर्नुपर्ने’ मत राख्दा ओलीले जवाफ फर्काउनुभयो, ‘मेकानिज्म पनि त्यस्तै त हो नि !’ त्यही क्रममा महासचिव शंकर लक्ष्यित भनाइ आयो– ‘चुनावमा हारेको मान्छेलाई व्यवस्थापन गर्न भूमि आयोग बनाइएको छ ।’ त्यस्तै, १५ वर्षसम्म सेवा आयोगमा बसेर यौटै विज्ञापन नखुलाई बिदा भएको सन्दर्भ निकाल्दै कड्किनुभयो– ‘घाँस काट्न मेसिन चलाउन नजान्नेहरू जेमा पनि म योग्य छु भन्ने !’ अध्यक्षले यसो भन्दा ‘सिफारिस गर्दैमा किन नियुक्त गरेको त ?’ भनेर प्रश्न उठेन । 

बैठकपछि पार्टी कार्यालयमै तीन नेतामाथिको कारवाहीबारे सञ्चारमाध्यमलाई जानकारी गराएका उपमहासचिव ज्ञवालीमाथि पनि मज्जैले छेडखानी चल्यो । उनीतिर हेर्दै धेरैचोटी ‘के छ गुरुको खबर’ भन्नुभएका अध्यक्ष ओलीले कवि जस्तो भावनामा बगेर पार्टी नचल्ने भन्दै ‘पागल कवि’ को संज्ञा दिनुभएको थियो । ‘तपाईंंहरू भावुक हुँदै मेरो छोरो यस्तो भयो, बारीको माटो बगायो भनेर रुँदै कविता कोरेर पार्टी चल्दैन’, कविको सन्दर्भ जोड्दै अगाडि भन्नुभयो, ‘गाउँमा रुँदै कविता लेख्ने कवि शहर पुगेपछि पनि रुन थाल्यो भने मान्छेले अस्पताल पुर्‍याउँछन् । कवि पागल हुन्छन्, निर्णय गर्ने क्षमता राख्दैनन्, त्यसरी चल्दैन जिन्दगी !’

भारतले नबोलाएकोमा दुःखेसो

अघिल्ला बैठकमा भारतको नाम नलिई देशी–विदेशी षड्यन्त्रको चर्चा गर्ने प्रधानमन्त्री ओली यो बैठकमा भने त्यसरी प्रस्तुत हुनुभएन । बरु दिल्ली भ्रमणको निम्तो नपाएकोमा निराश देखिनुभएका उहाँले संक्षिप्त धारणा राख्दै भन्नुभयो, ‘बोलाए न जाने हो, नबोलाए के गर्नु !’

प्रधानमन्त्री नियुक्त भएलगत्तै दक्षिण जाने चाहना भए पनि उताबाट औपचारिक निम्तो आएको छैन । भ्रमणका लागि नेपालका तर्फबाट एकल प्रयाससमेत भैरहेको चर्चा छ । बेइजिङ्गबाट फर्केलगत्तै गृहजिल्ला झापा पुगेर उहाँले आफू केही समयपछि भारत जाने दावीसमेत गर्नुभएको थियो । बालुवाटारनिकट एकजना एमाले नेताले त मितिसमेत तोकेर प्रधानमन्त्रीको दिल्ली भ्रमण निश्चित भएको सार्वजनिक गरेका थिए । यही सन्दर्भमा कुरा उठ्दा ‘बोलाए पो जानु !’ भनी निरीहता देखाउनुभएका उहाँले उच्च तहमा छलफल भए–नभएको विषय भने नखुलाएको बैठक स्रोतले बताएको छ । 

प्रधानमन्त्री ओलीको भारत जाने हुटहुटी पूरा गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालै दिल्ली यात्रा गरेकी थिइन् । तर, भारतीय संस्थापन पक्षले महत्व नदिएपछि झिनामसिना कार्यक्रममा भाग लिएर फर्कनुपर्‍यो । जबकि परराष्ट्रमन्त्री नियुक्त भएलगत्तै दिल्ली जाँदा ‘प्रधानमन्त्रीसरह स्वागत–सत्कार’ गरिएको थियो । 

प्रधानमन्त्रीका निम्ति भ्रमणको निम्ता माग्न गएको भनिएकी परराष्ट्रमन्त्रीलाई भारतले गरेको यस्तो व्यवहारबारे एमाले बैठकमा खासै कुरा कोट्याइएन । बरु, लामो समय कुर्दा पनि दिल्ली भ्रमणको मेलोमेसो नजुरेपछि चीन जानुभएका ओलीले अप्रिलमा युएईमा आयोजना हुने बिमस्टेकको बैठकमा जाने संकेत गर्नुभएको बताइएको छ । 
 

टिप्पणीहरू