धनगढीमा पनि काठमाडौंको सिको
धनगढी उपमहानगरपालिकाले सडक छेउछाउका संरचना हटाउन निर्देशन दिएको छ । वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक हुलाकी सडकसम्मको संरचना हटाउन निर्देशन दिइएको छ ।
मुख्य सडक चांैडा पारेर नयाँ निर्माणको तयारी भइरहेकाले सडक खाली गराउन लागिएको उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
सडकको विस्तृत योजना प्रतिवेदन तयार भइरहेको उल्लेख गर्दै उपमहानगरपालिकाले सडकको केन्द्रदेखि दायाँबायाँ १५ मिटर क्षेत्रभित्रका संरचना हटाउन घरधनीहरुलाई सूचित गरेको छ ।
पालिकाको सूचनामा भनिएको छ,‘सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको र केही महिनाभित्रै सडक निर्माण कार्यको बोलपत्र प्रकाशित हुने भएकाले उक्त सडकको केन्द्रदेखि दायाँबायाँ १५–१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने घरटहरा तथा अन्य संरचनाहरु २०७९ असोज मसान्तभित्र हटाई सहयोग गरिदिनुहुन सम्बन्धित घर तथा जग्गाधनीहरुमा हार्दिक अनुरोध गरिन्छ ।’
साथै, तोकिएको समयभित्र संरचना हटाउन अटेर गर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू