रवि लामिछानेलाई इन्स्पेक्टर विकास तामाङकी आमाको सन्देश-‘मेरो आँशुले पोल्नेछ भत्भती तिमीलाई’

रवि लामिछानेलाई इन्स्पेक्टर विकास तामाङकी आमाको सन्देश-‘मेरो आँशुले पोल्नेछ भत्भती तिमीलाई’

देशमा ‘स्वतन्त्र’ भन्दै हल्लाबाजीमा रमाउनेबाट आफ्नो प्रचारका लागि एउटालाई भेट्ने र अर्कोलाई रेट्ने काम भयो, सोमबार बिहान साढे १० बजेतिर दरबारमार्ग प्रहरी बृत्तमा ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठ छायाँ सेन्टरस्थित क्यानेडियन भीसा सेन्टरमा पुग्दा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गरुड सेक्युरिटीवाला शेरजंग गुरुङलाई भेट्न जाँदा रवि लामिछानेले त्यस्तो हर्कत गरेका हुन् । सञ्चार प्रस्तोताको पेशा छोडेर स्वतन्त्र पार्टी खोलेका उनी अन्य राजनीतिक दलहरुप्रति घृणा जगाउने र आफ्नो पक्षमा प्रचार बटुल्ने अभियानमा छन् । त्यही नियतका साथ अस्ति सोमबार शेरजंगलाई भेट्न पुग्दा खिचिएको फोटोका कारण त्यहाँका इन्स्पेक्टर विकास तामाङ कारवाहीमा परेका छन् । सामान्यतया प्रहरी कार्यालयमा कुनै घटनामाथि अनुसन्धान भइरहेको व्यक्ति र उनलाई थुन्ने सुरक्षाकर्मीको तस्बिर सार्वजनिक गर्न पाइँदैन । अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि पनि गर्न पाइँदैन । तर, रविले यी दुबै कुरा उल्लंघन गरिदिँदा ती इस्पेक्टर अप्ठेरोमा परेका हुन् ।

रवि दरबारमार्ग प्रहरी बृत्तमा पुग्दा अघिल्लो दिन विदेश तालिमबाट फर्केकी त्यहाँकी डिएसपी कोपिला चुडाल उपत्यका प्रहरी रानीपोखरीको ब्रिफिङमा थिइन् । पत्रकार छायाँचन्द्र भण्डारीसँग समाचारको विषयमा धम्की आदानप्रदान भएपछि लेख्ने पत्रकार भूमिगत र डिएसपी कोपिला न्यायको निम्ति कानुनी लडाइँमा छिन् । उनी कार्यालयमा नभएको बेला रवि पुग्दा पक्राउ परेका शेरजंगसँग बयान लिने क्रम चलिरहेको थियो । सामान्यतया अनुसन्धानरत व्यक्तिलाई प्रहरीले निश्चित समय तोकेर आफन्त र कानुनी सहयोगीसँग मात्रै भेट्न दिने गर्दछ । नाम र अनुहार चलेको एउटा मान्छे देखेपछि इन्स्पेक्टर विकासले आनाकानी गर्न सकेनन् र हाइफाइरहित जनजातिको छोराले विश्वासमा परेर भेट्न दिए । भेटेको मात्रै भए कुरै सकिन्थ्यो, सेल्फीसम्म खिच्न र त्यसलाई सामाजिक सञ्जालमा पुर्याउन भ्याएपछि भेट्न अनुमति दिने पालुङ चौकीबाट आएका २०७२ का इन्स्पेक्टरलाई गैरव्यवसायिक आचरणको आरोपमा उपत्यका कार्यालयले कारवाही गरेको छ । जबकि, छायाँ सेन्टरमा भएको घटना भएभन्दा अतिरञ्जित तवरले प्रचारमा ल्याइँदा देशका एकजना मन्त्री विवादमा मुछिएको भन्दै प्रहरीले छिटोभन्दा छिटो यो घटनालाई किनारा लगाउने काम गरिरहेको थियो ।

उनलाई लामो समय हिरासतमा नराख्न र सामान्य अनुसन्धान गरेर रिहा गर्न गृह र पर्यटन मन्त्रालयले प्रहरीलाई पत्र लेखिसकेका थिए । यसैबीच, इन्स्पेक्टरको सदाशयतालाई रविले दुरुपयोग गरेपछि उनले आफ्नो प्रचार त गर्न भ्याए, तर इन्स्पेक्टर आफैँ अप्ठेरोमा परेका छन् । रविले ‘मिडिया ट्रायल’ गर्ने मनशाय राखेको प्रहरीका हाकिमहरु बताउँछन् । राज्यका स्थायी संयन्त्रलाई पंगु बनाउने र आफू हावी हुने नियतका साथ अहिले पनि सक्रिय भएका उनले सञ्चारकर्मको जिम्मेवारी भने छाडिसके । ती निरीह इन्स्पेक्टरकी बृद्ध आमा रविलाई भन्छिन्, ‘तिमी हिरो बन्ने नाममा मेरो छोरोलाई आज जसरी सतायौ नि, मेरो आँशुको श्राप लाग्नेछ तिमीलाई ।’

उता, ‘ठगबहादुर’ नाम भएका डिएसपीले नामअनुसारकै काम गरे । तर, मन्त्रीकै भाइको निर्देशनमा कारवाही गरिनबाट जोगिएका छन् । इप्रका बुटवलमा कार्यरत डिएसपी ठगबहादुर केसी जिल्लाका एसपी रवीन्द्र रेग्मी कानको उपचार गर्न बिदामा बसेका बेला निमित्त कार्यालय प्रमुख थिए । त्यही बेला त्यहाँका वरिष्ठ सई विजय शाहीसँग मिलेर ‘नामअनुसारको काम’ गर्न भ्याए । सिद्धार्थनगर– १२, आवारोडस्थित एक कुरियरले लाखौंको अवैध कपडा पार्सल गरी ढुवानी गरेको नाममा ठगीको केस परेको हो । त्यहाँबाट तीन लाख रुपैयाँ बुझेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ । आन्तरिक अनुसन्धानका क्रममा कुरियर ठगीमा परेको प्रमाणित भइसक्यो । तर, तिलोत्तमा नगरपालिकाको मेयर रहेका गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्णले ठगबहादुरलाई बचाउँदै आएका छन् । अहिले पनि वामपन्थीलाई ठेगान लाउनुपर्छ, चुनावसम्म केही नगर्नू भन्ने दबाब छ । प्रमाणित भएको एउटा घटनामा कारवाहीमुक्त भएपछि मान्छे कति मैमत्त हुन्छ भने, २ महिनाअगाडि दिनदहाडै उनले वडाध्यक्षलाई स्वीमिङ पुलमा चोपलिदिए । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका क्रममा उनले तिलोत्तमा– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्वीमिङ पुलमा चोपलेका हुन् । तर, यो घटनामा पनि उन्मुक्ति पाए ।

अर्कातिर, आएपिच्छेका आइजिपीलाई निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना टुंगोमा पु¥याउँछु भन्दै जिल्ला चलाउने होडबाजी छ । कञ्चनपुरमा भएको निर्मला हत्याकाण्ड अझै निश्कर्षमा पुगेको छैन । तर, त्यही नाममा एसपी मुकुन्द मरासिनी त्यहाँ पुगेका छन् । यसअघि कुवेर कडायत र दिनेश आचार्य त्यसै भनेर गए । पुगेपछि पार्टीको झगडामा किंकर्तव्यविमूढ हुन पुगे । कांग्रेसले दोषी उनै दिलिपसिंह विष्ट भन्ने गरेको छ, अरु हैन भन्छन् । कांग्रेस सकभर यो मुद्दा नटुंगिए हुन्थ्यो, नत्र हाम्रो राजनीति बिग्रन्छ भन्नेमा छ । यही विवादका कारण हाल एसएसपी भएका डिल्लीराज बिष्ट नोकरीबाटै हटाइए । पछि पुनर्वहाली भए ।

टिप्पणीहरू