सभामुखको जिल्लाकी चेली कोरोनाको पहिलो शिकार

नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको  धुलिखेल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शनिबार राति यसको पुष्टि गरेका छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले उपलब्ध गराएको विवरणअनुसार नौ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी बाह्रबिसे–९ की महिलाको  मृत्यु भएको हो । स्वास्थ्य सेवा विभागका डा. गुणराज लोहनीसहितको टोली दिउँसो एम्बुलेन्ससहित धुलिखेल अस्पताल गएको थियो ।  शव आजै काठमाडौं ल्याएर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य सरेश नेपाल र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले पनि महिलाको  कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका छन् । डा. अधिकारीले विज्ञप्ति जारी गरी ती महिला पहिलो मृतक भएको जानकारी दिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।  ३६ जना निको भएका छन् ।

 

टिप्पणीहरू