पहिलेको आन्दोलनपछि २० अर्ब भुक्तानी, अब कति ?
निर्माण व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले पुस २७ गते राजधानीमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा आन्दोलन घोषणा गर्ने तयारी छ ।
भेलामा ७७ जिल्ला र सात प्रदेशका प्रतिनिधि रहने महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालका अनुसार भेलाबाट सरकारलाई खबरदारी गरिनेछ । त्यसैगरी, आगामी कार्यक्रम पनि भेलामार्फत् तय गरिने उनले जानकारी दिए ।
‘अघिल्लो आर्थिक वर्षमा भएको निर्माणको पुरै भुक्तानी पाएका छैनौं । यस आर्थिक वर्षको पनि बाँकी छ । भुक्तानी थपिँदै गएको छ । निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरु मर्कामा परेका छन् । पुस २७ गते पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा राष्ट्रिय भेला राखेका छौं । त्यहीँबाट अन्य कार्यक्रमको तय गरिनेछ’,उनले भने ।
निर्माण व्यवसायीहरुले भुक्तानीको माग गर्दै यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि डोजरसहित आन्दोलन गरेका थिए । त्यसपछि सरकारले झण्डै २० अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।
टिप्पणीहरू