रविको पक्षमा बहस चलिरहँदा अदालतबाहिर भीड, सुरक्षामा कडाई

रविको पक्षमा बहस चलिरहँदा अदालतबाहिर भीड, सुरक्षामा कडाई
सुन्नुहोस्

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादीहरुको थुनछेक बहस अन्तिम चरणम पुग्दै गर्दा जिल्ला अदालत परिसरमा भीडभाड बढेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीले इजलासमा बहस गरिरहँदा सो पार्टीका नेता-कार्यकर्ता एकाएक अदालत वरपर देखिएका हुन् । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले उनीहरुलाई एकै ठाउँमा भेला हुन भने दिएको छैन । 

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम ओलियाले आज अदालत बाहिर हिजो-अस्ति भन्दा बढी भिडभाड देखिएको बताए । तर, उनीहरुलाई एकै ठाउँमा जम्मा हुन भने नदिएको उनको भनाई छ । 

हिजोदेखि निशेधित क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको जानकारी दिँदै एसपी ओलियाले जनआस्थासँग भने, ‘अदालत, जिल्ला प्रशासन, प्रहरी कार्यालय, नेपाल राष्ट्र बैंक वरिपरि सुरक्षाकर्मी खटाएका छौँ । हिजोबाट भीड जम्मा हुन दिएका छैनौँ । फैसला नआउँदासम्म सतर्कता बढाइने छ ।’ 

सहकारी पीडितहरुलाई पनि भेला गर्न नदिएको उनको भनाई छ । फैसलाको संघारमा हुने सम्भावित हुलदंगा तथा नाराबाजीलाई मध्यनजर गर्दै उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको एपसपी ओलियाले जानकारी दिए । 

यस मुद्दाका प्रतिवादी गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक लामिछाने, छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाललगायतको तर्फबाट बहस सकिएको छ । अहिले जाहेरवालाका कानुन व्यवसायीले जवाफी बहस गरिरहेका छन् । 

जाहेरकर्ता र सरकारी वकिलले जवाफी बहस सकेपछि अदालतले रवि लगायतका प्रतिवादीलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ । शुक्रबारसम्म अदालतको आदेश आउने अनुमान गरिएको छ ।

टिप्पणीहरू