युवकको मृत्युपछि क्वारेन्टाइनमा रहेकाहरू आतंकित

युवकको मृत्युपछि क्वारेन्टाइनमा रहेकाहरू आतंकित

आइतबार बिहान निधन भएका बाँके नरैनापुरका २५ वर्षीय युवकको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएसँगै क्वारेन्टाइनमा बसेकाहरू आतंकित भएका छन् ।

बाँके नरैनापुर गाउँपालिका–५ मा रहेको क्वारेन्टाइन अव्यवस्थित रहेको गुनासो गर्दै आएका उनीहरूसँगै बसेका एकको मृत्यु भएपछि आतंकित भएका हुन् ।

नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन प्रभावकारी व्यवस्थापन नगरेको, बिरामीको थप उपचार नगरेको भन्दै आइतबार दिनभर क्वारेन्टाइनमा रहेकोहरूले विरोध गरिरहे । सुरक्षाकर्मीको भरमा सञ्चालन भइरहेको क्वारेन्टाइनमा स्वास्थ्यकर्मी नभएको प्रतिक्रिया उनीहरूले दिएका छन् ।

ती युवकको निधन हुँदा क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरू नभएको, उपचारमा पहल नगरेको, एम्बुलेन्स नआएको गुनासो गर्दै घटना घटिसकेपछि क्वारेन्टाइनमा पुगेका स्वास्थ्यकर्मीलाई उनीहरूले भित्र पस्नै दिएका थिएनन् । पछि सुरक्षाकर्मीको पहलमा उनीहरूभित्र छिरेका थिए ।
घटनाको विरोध गर्दै उनीहरूले खाना र नास्ता बहिष्कार गरेका थिए । वैशाख ३० गते भारतको मुम्बईबाट आएका २५ वर्षका युवा नरैनापुरको दीपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए । बिहान ६.४० मा उनको मृत्यु भएको थियो । राति ३ बजेदेखि एक्कासी बान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिबार नरैनापुरबाट २ सय ६३ जनाको स्वाब लिँदा ती युवकको पनि लिइएको थियो । नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

बाँकेको विकट गाउँपालिकाको रूपमा परिचित नरैनापुर क्षेत्रमा दिनहुँ नेपाली भारतबाट नेपाल प्रवेश गरिरहेका छन् । गाउँपालिकाले व्यवस्थापन गरेका ११ वटा क्वारेन्टाइनमा ६ सय २५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले ती युवकको निधन कोरोना भाइरसबाट भएको पुष्टि गरेपछि उनको शव राप्ती नदी किनारमा गाडिएको छ । मृतकको धर्म संस्कारअनुसार उनको शवलाई गाडिएको सम्बद्धहरूको भनाइ छ ।

टिप्पणीहरू