मन्त्री पद जान्छ भन्ने डरले पो हो कि !

मन्त्री पद जान्छ भन्ने डरले पो हो कि !

०७६ साल असोज २ गते बागमती प्रदेशको राजपत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन गर्न बनेको ऐन प्रकाशित भयो । प्रदेश सभाले पारित गरेको विधेयकलाई ऐनको रुपमा प्रमाणिकरण गरी प्रकाशित भएपछि मकवानपुरबासी खुशी नै थिए । किनकि भइरहेको हेटौँडा अस्पतालको गुणस्तर बृद्धि गर्ने कुरासँगै अर्काे ठूलो स्वास्थ्य संस्था पनि मकवानपुरमै जन्मियो र यसले अब स्वास्थ्य उपचारसँगै जनशक्ति पनि उत्पादन गर्नेछ भन्नेमा आम जनता ढुक्क भए ।

तर समयक्रम बित्दै जाँदा कुराहरू बिग्रँदै गए । संसदले पास गरेको विधेयकमाथि शंका मात्रै होइन तत्कालीन राजनीति पनि बिग्रियो । त्यतिखेर मुख्यमन्त्री थिए हेटौँडाकै डोरमणि पौडेल । अनि प्रमुख प्रतिपक्षी दलका नेता हेटौँडाकै इन्द्रबहादुर बानियाँ । त्यतिखेर यी दुबैको दोस्ती निकै थियो भनिन्छ । विधेयक प्रमाणिकरण भएर आएको ५ वर्षपछिको अबधिमा अहिले आएर भने प्रतिष्ठानको काम कारबाहीबारे शंका, उपशंका र आक्रोश देखिन थालेको छ । खासगरी नेपाली कांग्रेसको अगुवाइमा प्रतिष्ठानले आफ्नो उद्देश्यअनुरुप काम नगरी संघीय सरकारमातहत रहेको हेटौँडा अस्पताललाई कब्जा गर्ने र जनताको मौलिक हकलाई नै कुण्ठित गर्नेगरी व्यवहार भइरहेकामा विरोध गरिएको छ । कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव, स्वतन्त्रलगायत ९ दलले प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् । यसै सन्दर्भमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासँग जनआस्थाका प्रतिनिधि शिवकुमार काशीले गरेको कुराकानी ।

० हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्वन्द्व चर्केको छ र यो राजनीतिक बिषय बनेको छ । यसको भित्री चुरो कुरो के हो ?

– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थापन गर्न बनेको ऐन २०७६ हो । यो ऐनमा संघीय सरकारले सञ्चालन गर्दै आइरहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा परिणत गर्ने भन्ने लेखिएको छ । मुख्यमन्त्री र मन्त्री तथा संसदीय दलका नेताहरू पनि हामीले यसबारे ध्यानाकर्षण गराएका छौँ । यसका नाउँमा रहेका सम्पत्ति प्रतिष्ठानको नाउँमा सार्ने र सिध्याउने जुन प्रपञ्च भइरहेको छ, हामीले यसको सशक्त प्रतिवाद गरिरहेका छौँ । हामीले भनेका छौँ–एउटा स्वायत्त संस्थालाई हेटौँडा कपडा उद्योगको हैसियतमा लैजाने कुरा कुनै पनि अर्थमा क्षम्य हुनेछैन ।

० प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल ल्याउने र सेवाको गुणस्तरीयता वृद्धि गर्ने कुरा मन नपर्नुको कारण के हो ?

– सरकारले दिने सेवा कुनै प्रतिष्ठानले त्यो दिन सक्छ ? स्वास्थ्य बीमा त दिन सकिरहेको छैन । अनि सरकारले दिने थुप्रै खोप सेवा, मातृशिशु सेवा, अरु विशेषज्ञ सेवाहरू प्रतिष्ठानले दिन सक्छ भन्ने के ग्यारेन्टी छ ? यी सबै सेवा हेटौँडा अस्पतालबाट उपलब्ध भइरहेको छ । यी सेवा प्रतिष्ठानले दिन सक्दैन भन्ने पक्का भएरै हामीले विरोध गरिरहेका छौँ । हेटौँडाका जनतालाई आँखामा छारो हालेर प्रतिष्ठानले सबै सेवा दिनेछ भन्ने भ्रम छर्न खोजिँदै छ । निजामती सेवाबाट आउने विशेषज्ञ डाक्टरहरू स्वायत्त संस्थाको रुपमा रहेको प्रतिष्ठानमा जाँदैनन् । प्रतिष्ठानले अन्यत्रै जग्गा खोजेको छ, अर्कै अस्पताल बनाउने भनेको छ । उतै गरे भइहाल्छ । किन हेटौँडा अस्पताल खानुप¥यो ?

० हेटौँडा अस्पताल नै खानुपर्ने बाध्यता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई किन परेको रहेछ त ?

– यसो भयो भने प्रतिष्ठानका सबै काम एकांकी हुन्छ । प्रतिष्ठान आफँै सरकारले नचलाएर बाहिरी शक्तिले चलाउने स्थिति आउँछ । बाह्य शक्तिले चलाउने भएकाले जनताले पाउने सुविधामा खेलवाड हुन सक्छ । संघीय सरकारले व्यवस्थापन गरेको अस्पताललाई व्यक्तिसरह बेच्न पनि पाउने व्यवस्था ऐनमा छ ।

० भनेपछि प्रतिष्ठानभित्रै हेटौँडा अस्पताललाई गाभ्दा त्यहाँबाट संघीय सरकारले मौलिक हकअन्तर्गत प्रदान गर्ने स्वास्थ्य अधिकारका सेवासमेत सःशुल्क हुन्छ र गरिव बिपन्न जनताको पहुँचबाट आधारभूत हक नै कुण्ठित हुन्छ भन्ने डर हो ?

– प्रतिष्ठान पक्का सरकारी निकाय होइन । त्यो एकखाले स्वायत्त संस्था हो । स्वायत्त संस्थाले सरकारले दिने सेवा सुविधा दिन सक्दैन । बीमा दिन्न भन्यो भने के गर्ने ? सरकारी अस्पतालले बीमा सुविधा दिन्न भन्न त मिल्दैन । तर, स्वायत्त संस्थाले त भन्न मिल्यो ।

० कतिपय एमालेका तत्कालीन जननेता मदन भण्डारीको नाम जोडिएकाले अरु दलले प्रतिष्ठानको विरोध गरे भन्छन् नि ?

– यस्तो आरोप लगाउने एमालेजनहरू नै हुन् । यदि नाममै विरोध गर्ने हो भने धरान–चतरा सडकलाई मदन भण्डारी मार्ग बनाइयो, हेटौँडामा मदन भण्डारी औद्योगिक क्षेत्र निर्माण हुँदैछ । हामीले त्यसको विरोध गर्नुपथ्र्याे होला नि । नाममा हाम्रो केही कुरा होइन । आन्दोलनलाई अन्यत्र मोड्न वा बिषयान्तर गर्नका लागि यस्ता कुरा आउँछन् ।

० बागमती प्रदेशमा तपाईंकै पार्टीका नेता दुईपटक स्वास्थ्यमन्त्री भएका थिए, यो ऐनलाई संशोधन गर्ने र प्रतिष्ठानबाट अस्पताललाई अलग पार्ने काममा किन पहल गर्नुभएन त ?

– हामीले एउटा अध्ययन टोली नै बनाएर सबै काम गरेका हौँ । मुख्यमन्त्रीलाई पनि ध्यानाकर्षण गराउँदा अस्पताल र प्रतिष्ठान फरक नै हुने हो भन्नु भएको थियो । हाम्रै पार्टीका मन्त्री हुँदा संशोधन विधेयक तयार गरिएको हो । तर, यी सबै काम असफल भए । हामीसँग ती प्रस्ताव छन् ।

० अब प्रदेश सरकारले त पेलेरै जाने देखियो । ऐन संशोधनको अवस्था पनि छैन । एकातिर आन्दोलनमा जाने अर्काेतिर सरकारमा पनि आफै रहने अवस्था पनि कतिपय दलको छ । के गर्नुहुन्छ त ?

– अहिले हामी सरकारमा छैनौँ । मकवानपुरबाट प्रदेश सरकारको मन्त्री हुनुभएकी कुमारी मोक्तान मात्रै हुनुहुन्छ । एकलाल श्रेष्ठ (एमालेबाट) कुरा गर्नै परेन । तर पटक पटक मन्त्री भइरहनु भएकी कुमारी मोक्तान पनि यसबारे बोल्नुहुन्न । मन्त्री पद जान्छ भन्ने डर पो हो कि ? हेटौँडा अस्पतालको इज्जत बचाउने, अस्तित्व बचाउने र हेटौँडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने कुरामा पहल गर्ने कुरामा किन मन्त्रीजी बोलिरहनुभएको छैन ?

टिप्पणीहरू