प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै आँखाअगाडि गराइन् श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै आँखाअगाडि गराइन् श्रीमानको हत्या

योजना अनुसार श्रीमतीले सवा दश बजे ढोका खोलिन्, प्रेमी ब्रम्हदेवले साढे १० बजे साथीसँग मिलेर प्रेमिकाका श्रीमानको हत्या गरे । घाउ देखिन्छ भनेर सबैले मिलेर पाउडर छर्किए । श्रीमतीले योजनाअनुसार बिहान ३ बजे घरधनी र औषधी व्यवसायीलाई श्रीमान् सिकिस्त बिरामी भएको भन्दै फोन गरिन् । अस्पताल लाँदा डाक्टरले ‘हि इज नो मोर’ भने ।

‘कोरोनासँग लड्ने हो डराउने हैन । श्रीमतीसँग डराउने हो, लड्ने हैन । किनभने अहिलेसम्म दुवैको औषधि पत्ता लागिसकेको छैन ।’

११ दिनअघि अपराह्न साढे ४ बजे फेसबुकवालमा स्टाटस लेखेका विराटनगरका ३३ वर्षीय औषधि व्यवसायी देवी दुलालले सोचेका पनि थिएनन् कि आफूले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफू निर्ममतासाथ मारिन्छु भन्ने । तर, उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले ४ जेठ राति साढे १० बजे प्रेमीसँग मिलेर योजनाअनुसार उनको हत्या गराएरै छाडिन् । अन्तर्जातीय बिहे गरेका उनीहरूका ८ वर्षको छोरोसमेत छन् ।

औषधि व्यवसायी साथीहरूसँग कारोवारको कुरा गर्दै घरमै मदिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मार्न श्रीमती आफैंले सवा १० बजे घरको ढोका खोलिदिएकी थिइन् । त्यसपछि रक्सीको नशाको निद्रामा परेका उनका पतिलाई प्र्रेमी ब्रह्मदेव साहले योजनाअनुसार ओछयानमै घाँटी थिचे अनि उनका साथी सोनु साहले खुट्टा समाए । आकस्मात् घटना भएपछि दुलालले छटपटाउँदै प्रतिकार गरे । तर, उनलाई टाउको, जिउ र खुट्टामा रड प्रहार गरियो । प्रतिकारका क्रममा प्रेमी ब्रह्मदेवले घाँटी थिच्न प्रयोग गरेको डोरी चुँडियो तर निष्ठुरी श्रीमतीको मन पग्लिएन । पुनः अर्को डोरी प्रयोग गरेर ब्रह्मदेवले घाँटी थिचेर हत्या गरिछाडे । घाउ र रगत नदेखियोस् भनेर सबैले मिलेर दुलालको घाँटी र शरीरमा पाउडर छर्के ।

आफ्नै योजनामा आफ्नै कोठामा श्रीमानको हत्या गर्न सफल भएपछि श्रीमती मीनाले आइतबार बिहान ३ बजे घरधनी र औषधि व्यवसायी धनबहादुर काफ्लेलाई फोन गरेर दुलाल सिकिस्त भएको भन्दै फोन गरिन् । सबैले हतारहतार अस्पताल चौकमा रहेको गोल्डेन अस्पताल उपचारका लागि लगे । तर, दुलालको मृत्यु भइसकेको थियो । यसैले डाक्टरले पोस्टमार्टमका लागि कोसी अस्पताल लान सल्लाह दिए ।

घटनाको सूचना मोरङ प्रहरीमा पुग्यो । घटनाको प्रकृति हेर्दा र उनीसँगै शनिबार साँझ घरमै मदिरा पार्टी खाएका औषधि व्यवसायी साथीहरूसँग बुझ्दा दुलालको मृत्यु हैन हत्या भएको निष्कर्षमा प्रहरी पुग्यो । किनभने मृतक दुलालको घाँटीमा गहिरो नीलडाम थियो भने निधार, खुट्टा र शरीरमा गहिरो चोट थियो । शनिबार मदिरा पार्टी खाने औषधि व्यवसायी साथीहरू हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पनि साँझ ९ बजे नै बाहिरिएका थिए ।

हत्या गरिएका व्यवसायी देवी दुलाल

घरमा दुलाल र उनकी श्रीमतीबाहेक कोही थिएन । तर, श्रीमान् दुलाल आफंै सुतेको ओछयानमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । मोरङका एसपी विश्व अधिकारीका अनुसार घटना विश्लेषणबाट हत्याको निष्कर्ष आएपछि प्रहरीले श्रीमती मीनालाई नियन्त्रणमा लिएर शनिबार रातभर केरकार ग¥यो । केही बेरमै उनले आफूले सिरहा लहान नगरपालिका–१० पडहरिया टोल घर भै विराटनगर–४ स्थित बुढाथोकी फार्मेसीमा बिक्रेताको काम गर्ने २१ वर्षीय प्रेमी ब्रह्मदेव साह र उनका साथी इटहरी उपमहानगर–१२ बस्ने २० वर्षीय सोनु साहसँग मिलेर आफ्नै श्रीमानको आफ्नै अगाडि हत्या गराएको रहस्य खोलिन् ।

प्रदेश १ प्रहरी कार्यालय र मोरङ प्रहरीको विशेष अनुसन्धान टोलीले रातभरिमा मोबाइल टे«स गरेर दुवै जनालाई पक्राउ ग¥यो । र, बयानका क्रममा दुवैले आफ्नो अपराध स्विकारे । उनीहरूका अनुसार मीनाको श्रीमानलाई हत्या गर्ने योजना उनीहरूले तीन महिनादेखि नै बनाएका थिए । तर, मौका जुरेको थिएन । शनिबार व्यवसायी साथीहरूसँग रक्सी धेरै खाएर सुतेपछि उनीहरूका लागि अवसर जुरेको थियो । नौ बजे रक्सी खाएर दुई जना साथी बाहिरिएपछि विराटनगर–१० मधुमारामा औषधिको थोक व्यापार गर्दै आएका व्यापारी दुलाल साढे ९ बजेतिर सुतेका थिए । श्रीमान् निदाएको थाहा पाएपछि श्रीमती मीनाले प्रेमी ब्रह्मदेवलाई फोन गरेर घरको ढोका खोलिदिएकी थिइन् । ब्रह्मदेव पनि योजनाअनुसार आफ्नो साथीलाई लिएर मीनाको घर पुगेका थिए ।

घरपरिवारसँग विद्रोह गरेर पाँचथर माइती भएकी श्रेष्ठसँग प्रेम विवाह गरेका सुनसरी इटहरी उपमहानगर–१२ खनार स्थायी घर भएका देवी दुलालले मधुमारामा सिंगै घर भाडामा लिएका थिए । त्यहीँ उनले औषधिको देवी पाथीभरा फार्मेसी नामक थोक पसल सञ्चालन गर्दै आए । आफन्तका अनुसार दुलाल आफ्नी पत्नीलाई औधी माया गर्थे । सबैका अगाडी गुण र स्वभावको बखान गर्थे ।

अन्ततः उनी आफ्नै श्रीमतीबाट मारिए । उनको समाजमा धनी र नामी बनेर श्रीमती र छोराछोरीलाई सुख दिने सपना खरानी भयो । अनि उनकी श्रीमती क्षणिक सन्तुष्टिको आवेगले गर्दा जीवनभरि कंलकित अपराधी बन्न पुगिन् ।

उता, केही महिनाअघि मात्र सामाजिक विवाह गरेका प्रेमी ब्रह्मदेवले आफ्नै निर्दोष पत्नीलाई पनि एकल बनाए । र, साथीको बिहेको पार्टी खान लोभिएका साथी साह पनि कर्तव्य ज्यान मुद्दाका कसुरदार भए । मोरङ प्रहरीले उनीहरू सबैलाई जघन्य अपराधअन्तर्गत कर्तव्य ज्यान अपराधमा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । अदालतले अपराध ठहर गरेमा तीनै जनाको जीवनभरि बाँचुन्जेलसम्म समाजसँग सम्पर्क विच्छेद हुनेछ ।

टिप्पणीहरू