कताको दैनिक ३ अर्ब, कताको १७ करोड

कताको दैनिक ३ अर्ब, कताको १७ करोड

बिगतमा उनीहरू फर्कदा कोशेलीको आसले झुम्मिने र अहिले संक्रमणको डरले टोल छिमेक भाग्ने स्थिति त आउन्न ?

पिसिआर विधिबाट कोरोना जाँचको क्रम जति–जति बढ्दो छ, पत्याउन नसकिने गरी संक्रमित पहिचान हुने क्रम त्यही रफ्तारमा बढ्दो छ ।
अब ख्यालख्याल सम्झिएर हिँड्ने, निस्कने क्रमले मानिसलाई रोगी बनाउने करिव निश्चितजस्तै हुने स्थिति छ ।

मुख्यतः बाँकेको नरैनापुर क्वारेन्टाइनमा पछिल्लो तीन दिनभित्र देखिएका संक्रमितको संख्या सुन्दा आङ सिरिङ्ग हुने स्थिति भएको हो ।
अर्कातिर यही समयमा विदेशिएका नेपालीलाई स्वदेश फर्काउने तयारी चल्दैछ ।

सरकारले दैनिक ४ हजारका दरले (भारतबाहेक) आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गर्दैछ । यसबाट चिन्ता थपिएको छ, यसरी फर्किएकालाई कहाँ राख्ने ? वा,कसरी सुरक्षित तबरले उनीहरुको घर–ठेगानासम्म पुर्याउने ? सरकार कुहिरोभित्रकै कागको हालतमा छ ।
अर्को मुख्य अभाव हो,क्वारेन्टाइनको । होटलहरुमा राखौं, यो संकटको घटीमा कुन वेटर र कुकले तिनलाई पकाउने,सेवा पुर्याउने,हाउस किपिङ्गले रुम सफाइ गर्ने ?

यसरी विदेशबाट फर्किनेहरुको  हालत ‘तावाबाट उम्केको माछा भुंग्रोमा खसेझैँ’ त हुने त होइन ? बिगतमा उनीहरू फर्कदा कोशेलीको आसले झुम्मिने र अहिले संक्रमणको डरले टोल छिमेक भाग्ने स्थिति त आउन्न ? गम्भीर चिन्ताको विषय हो ।

संक्रमणको प्रबृत्ति हेर्दा नेपाललाई मुख्य खतरा भारतबाटै देखियो । जति संक्रमित पहिचान भएका छन्,धेरैजसो कुनै न कुनै भारतीय शहरबाट नेपालका विभिन्न नाका हुँदै भित्रिएका छन् ।

हिजो मंगलबार  अपरान्ह  ५३ र स्वास्थ्य मन्त्रालयको राति १० बजेर १५ मीनेटको विज्ञप्तिअनुसार थप १८ संक्रमित, अर्थात् ७१ जना पुगेका छन्  । त्यसमध्ये राति १८ संक्रमित पहिचान हुँदा बाँकेको नरैनापुर, (भोजभगवानपुर) क्वारेन्टाइनमा मात्रै १२ जना छन्  । अर्थात्, यी सबै भारतबाट आएका हुन् ।

अर्कातिर, यसरी हुल बाँधेर विदेशिएका नेपालीलाई स्वदेश त फर्काउने, तर सरकारसँग दुई हजारभन्दा बढीको औषधोपचार क्षमता छैन् ।
जबकि, अहिलेसम्म संक्रमित संख्या ३ सय ७५ कटिसकेको छ । योबीच सीमानाका ह्वात्तै खोलेपछि निस्कने डरलाग्दो परिणामबारे सरकारलाई हेक्का  छ कि छैन ?

अर्काेतिर यसअघि नै हामी कोरोना संक्रमण शुरु हुँदा नहुँदै राहत बाँडन निस्कियौं । अब साच्चै संकटको घडी आएको छ ।  अर्बमा हुनुपर्ने राजस्व असुली घटेर करोडमा खुम्चिएको छ । राष्ट्रिय आय प्रभावित हुने अर्को दुःखद् चित्र छ, उब्जनीमा । कृषि सामाग्री कम्पनीले अहिलेसम्म रसायनिक मल आयातका लागि टेण्डर आह्वान गर्न सकेको छैन । असारमा धान रोप्नुपर्छ । जेठ पनि आधाउधी लागिसक्यो । टेण्डर गरेको कम्तिमा तीनदेखि पाँच महिनामा सामान नेपाल भित्रिन्छ । असारमा धान रोपेका कृषकले ढिलोमा भदौभित्र कीटनाशक मल पाएनन् भने किरा लागेर धान खत्तम हुने अवस्था आउँछ ।

यसप्रकार अझै अर्काे आर्थिक वर्ष संकटपूर्ण र कष्टकर हुने देखिन्छ । विगत वर्षको तुलना गर्ने हो भने वैशाख, जेठ महिना भनेको दैनिक ३ अर्बभन्दा बढी राजश्व उठ्ने समय हो । तर अहिले हामीकहाँ दैनिक १७ देखि १८ करोड  उठिरहेको छ । यति रकम त हामीकहाँ स्टेशनरी सामान खरिदमै खर्च हुन्छ ।

टिप्पणीहरू