नेतृत्वले नै हो रोलमोडल बन्नुपर्ने
दुईजनाको घटनाक्रम र प्रकृति हेर्दा उनीहरूलाई मरेपछि पो कोरोना लागेको हो कि जस्तो देखिँदैछ ।
भारतबाट फर्किएका कोरोना संक्रमित नेपालीमा सामान्यदेखि कडा गरी सात थरिका लक्षण देखिएको बताइएको छ । अस्ति बाँकेको एउटा क्वारेन्टिनमा अकस्मात बान्ता गरेपछि ढलेर बितेका युवामा सबैभन्दा कडा लक्षण थियो । यस्तो अवस्थामा अन्य संक्रमित देशबाट नेपाली नागरिक ल्याउने हो भने, हामीसँग तिनलाई राख्न आवश्यक क्वारेन्टिन र आइसोलेशनस्थल छैन । कडा लक्षण देखिएर सिकिस्त हुनेलाई उपचार गर्ने पर्याप्त भेन्टिलेटर छैन ।
सरकारले डेढ महिनाअघि नै मुलुकभर डेढ लाख जनालाई राख्न पुग्ने क्वारेन्टिनस्थलको योजना बनाएको थियो । त्यसका लागि विभिन्न मन्त्रीले आ–आफ्नो क्षेत्रको जिम्मेवारी निभाउने भनिएको थियो । राजनैतिक र नागरिक सम्वादको लागि कुनै एकजना मन्त्रीलाई जिम्मेवारी दिने कुरो पनि उठाइएको थियो । तर, त्यो विषय त्यत्तिकै उठ्यो र सेलायो ।
शुरुमा कोरोना संक्रमण रोक्न कर्मचारी संयन्त्रलाई नै परिचालन गर्ने ढंगले झण्डै दुई हप्तासम्म सरकार पर्ख र हेरको रणनीतिमा बस्यो । तर, त्यसबाट खासै प्रगतिको छाँट नदेखेपछि विभिन्न मन्त्रीले आवश्यक जिम्मेवारी लिनेगरी राजनीतिक संयन्त्र बनाइयो ।
सरकारले उक्त संयन्त्र गठन गरेको एकसाता नबित्दै छाउनीस्थित सेनाको ब्यारेकमा सिसिएमसी गठन गरियो । त्यसपछि कोरोनासँग सम्बन्धित सबै विषय क्रमशः त्यतैतिर सर्यो । औषधी खरिदलगायतका काम पनि सेनालाई नै दिने निर्णय गरेपछि त्यसअघि गठित राजनीतिक संयन्त्र हात्तीको देखाउने दाँतमा सिमित भयो । त्यसअघिको राजनीतिक संयन्त्रमा रहेका मन्त्रालय सिसिएमसीको निर्देशन पालना गर्ने अंगमा सिमित भए । अहिले सिसिएमसी पनि क्रमशः कर्मचारी संयन्त्रतर्फ ढल्किँदै गएको देखिन्छ । यदि यसो हो भने हामी कोरोना नियन्त्रणको नाममा कता उन्मुख भइरहेका छौं ?
कोरोनाबाट निधन भएका भनिएका दुईजनाको घटनाक्रम र प्रकृति हेर्दा उनीहरूलाई मरेपछि पो कोरोना लागेको हो कि जस्तो देखिँदैछ । उता,खुल्ला सिमानाबाट संक्रमित भित्रिने क्रम रोकिएको छैन । रोकथामको लागि कुनै व्यवहारिक पहल भएको देखिँदैन ।
पिसीआर परीक्षण पनि पछिल्ला दिनमा सांसद, भिआईपी, उपत्यकाका सिमित निकायको लागि मात्र हो कि भन्ने भान पर्न थालेको छ । अति जोखिम क्षेत्रका सर्वसाधारणमा बेलैमा परीक्षण हुन नसक्नुले उक्त भानलाई पुष्टि गर्छ ।
चीनलगायत कोरोना रोकथाममा सफल र उन्मुख अन्य मुलुकलाई हेर्ने हो भने यसको सामना राजनीतिक नेतृत्वबाटै हुनुपर्दछ । त्यहाँ रास्ट्रपति तहबाटै हस्तक्षेप भएर सम्बन्धित प्रान्तका पार्टी प्रमुखहरु गैह्रजिम्मेवारीको निम्ति बर्खास्त गरिएको अवस्था छ,त्यसैले यस्ता महामारीसङ्ग जुझ्न फ्रन्टलाइनका रोल मोडलको भूमिकासहित राजनैतिक नेतृत्व, दोस्रो तहमा सामाजिक अभियन्ता र स्वास्थ्य विज्ञहरू तथा तेस्रोमा सुरक्षा फौज रहनुपर्दछ ।
चैत ११ गते लकडाउन शुरु भएको दोस्रो सातापछि चीनको मोडल कार्यान्वयनको लागि केही मन्त्रीले पहल पनि गरे । तर, आफूहरू सफल हुन नसकेको उक्त पीडा तिनले यतिखेर पोखेका छन् । पछिल्ला दिनमा सिसिएमसीले गरेको निर्णय अधिकांश मन्त्रीले सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने अवस्था बन्दै गएको छ । यसले कोरोनाबिरुद्धको लडाईंमा कतै हाम्रो राजनीतिक नेतृत्व पछाडि परेको पो हो कि भन्ने आशंकालाई बल मिल्दै गएको छ ।
टिप्पणीहरू