प्रधानमन्त्री यसर्थ अब झन् पावरफुल

प्रधानमन्त्री यसर्थ अब झन् पावरफुल

वर्तमान सरकारको विकल्पमा जो कोही कुर्सीमा बस्न पुगे पनि भारतसङ्ग जुध्न खोज्दा देशी बिदेशी षडयन्त्रबाट सत्ता हत्याएको आरोपसहित लखेट्ने क्रम शुरु भइहाल्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मंगलबार सँसदलाई सम्बोधन गर्ने क्रममा भारतीय निशान छापवारे व्यक्त धारणा यतिखेर भारतीय सञ्चार माध्यममा भाइरल बनेको छ । प्रधानमन्त्रीले चारैतिर फर्केको सिंहको मुन्तिर लेखिएको ‘सत्यमेव जयते’ कि ‘सिंहमेव जयते’ भनेर भारतद्वारा अतिक्रमित भूमिप्रति लक्षित गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति,भारतीय सञ्चारमाध्यममा छाएको भाइरल र भारतीय पक्षको मौनताले परिस्थितिलाई सुमधुरभन्दा टकरावतर्फ धकेल्नसक्ने अनुमान गर्न थालिएको छ । विगतलाई हेर्दा अब फेरि नेकपाभित्र राम्रै चलखेल शुरु हुनसक्छ । हुन तः चलखेल हिजोदेखि नै भइरहेको थियो । यस्तो अवस्थामा कथमकदाचित् प्रधानमन्त्री ओलीको सत्ता तलमाथि हुनसक्ने अवस्था देखा पर्यो भने पनि त्यसको दोष भारतलाई नै जानेछ । परिस्थिति पनि सोहीबमोजिम विकास भइरहेको छ ।

हिजोभन्दा आगामी दिनमा नेकपामा सरकारसँग असहमतिको कुनैपनि विषय उठाइएमा भारतको चलखेलमा भएको गतिबिधिको बिल्ला भिराइने पक्का छ । नेकपामा चर्किएको पछिल्लो विवादको निरूपण भइसकेको छैन । सचिवालय समीकरणमा देखिएको प्राविधिक परिवर्तन र कोरोना प्रकोपका कारण रोकिएको मात्र हो । विवाद भुसको आगोझैं यथावत छ ।

उता बालुवाटार पक्ष पनि कथमकदाचित् प्रधानमन्त्रीको छिसिक्क आलोचना मात्रै गरे पनि यस्तो बेला ? यसमा पक्कै भारतको हात छ भनी आरोप लगाउन तयारी अवस्थामा देखिन्छ । तसर्थ, वर्तमान सरकारको विकल्पमा जो कोही कुर्सीमा बस्न पुगेपनि भारतसङ्ग जुध्न खोज्दा देशी बिदेशी षडयन्त्रबाट सत्ता हत्याएको आरोपसहित लखेट्ने क्रम शुरु भइहाल्छ । त्यसैले सरकारलाई कोरोना संक्रमणसङ्गै अहिले पार्टीभित्रको बिवाद सत्तामाथिको संकट रोक्ने अचुक अस्त्र बन्नसक्ने पक्का छ ।

यता संसदमा प्रधानमन्त्रीले लिपुलेकमा भारतले बनाएको सडकबारे चीनसँग पनि कुरा भएको उल्लेख गर्नुभएको छ । उता, चीनले सो सम्बन्धमा बेइजिङ्गमा व्यक्त गरेको धारणा एकै छिनको अन्तरमा आउनु पनि काकताली परेको छ । चीनले कालापानी र लिपुलेकको विवाद नेपाल र भारतबीचको रहेको बताएपछि नेपाललाई चीनले उक्साएको भन्ने भारतीय आरोपलाई बल मिलेको छ । नेपालले लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा प्रकाशित गरेपनि भारतले सजिलैसँग तिम्रो जमिन फिर्ता लैजाऊ भन्दैन । तर,प्रधानमन्त्री ओलीलाई हिजोका दिनमाझैँ सहजसँग सत्तामा बसिरहेको पनि हेर्न चाँहदैन ।

नेकपाभित्रको विवाद क्रमशः जेरी झैं जेलिन पुगेको छ । विगतमा दुईजना अध्यक्षको भलाकुसारीबाटै पार्टीभित्र विवादको निश्कर्ष निकालिन्थ्यो । तर,यसपटक प्रधानमन्त्रीको रणनीति अहिलेझैं सरकार र पार्टी सञ्चालन गर्दै जाने देखिन्छ । पछि कोरोना र लिपुलेकको विषयमा कहिँकतै भूमरी पर्नथाल्यो भने अरुले बाध्य भएर गर्ने पहलको अवस्थामा देखा जायगा !

भारतले सजिलैसँग तिम्रो जमिन फिर्ता लैजाऊ भन्दैन तर प्रधानमन्त्री ओलीलाई हिजोका दिनमाझैँ सहजसँग सत्तामा बसिरहेको पनि हेर्न चाँहदैन ।

पछिल्लो महिनादेखि ठूलो संकट झेल्दै आएको सरकारको आयुमा कोरोना र लिपुलेकको बाटो अभयदान हुने देखिँदैछ । एकातिर कोरोनाको महामारी सरकारले सोचेभन्दा गम्भीर बन्दै छ । उता, नयाँ नक्सामा समेटिएको भूभाग नेपालकै हो भन्दै संसदमा लैजाने संविधान संशोधनको प्रस्तावबिरुद्ध कोही पनि उभिनसक्ने अवस्था देखिँदैन । किनकि अहिले विपक्षमा उभिए भोलि अरुको लागि पनि संविधान संशोधनको बाटो स्वतः थुनिन जान्छ । मधेशवादी दल सबै विपक्षमा उभिए पनि काँग्रेस नैतिक रूपमा सक्दैन । नेकपालाई दुई तिहाइको लागि बढीमा दश सिट भए पुग्छ । काँग्रेस जोडिनेबित्तिक्कै त्यो आवश्यकता भन्दा बढी हुन्छ ।

नेकपामा गाँठो पर्दै आएको एमसीसी प्रस्ताव यहि मेसोमा संसदमा प्रस्तुत हुने संभावना बढेको छ । यसको लागि पनि नेपाली काँग्रेस नेकपाभन्दा एक कदम अगाडि देखिन्छ । नेकपाभित्र बजेट अधिवेशन अघिझैं प्रधानमन्त्री तथा संसदीय दलको नेताबाट ह्विप जारी भएको अवस्थामा कसैले पनि दाम्लो चुँडाल्न सक्ने सम्भावना रहँदैन ।

गत बैशाखमा प्रतिनिधि सभाका ८१ जना सांसदले प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गरेका थिए । पूर्व एमालेका सांसदमध्ये बीना बुढाथोकी र अर्को एकजनाले भने दुबैतिर हस्ताक्षर गरे। पूर्व एमालेका सांसदहरूमध्ये ७९ जना टसको मस् नगर्ने ओली पक्षका छन् । प्रतिनिधिसभामा बहुमतको लागि आवश्यक संख्या ८७ जना हो ।

पूर्व एमालेका सांसदहरूमध्ये ७९ जना टसको मस् नगर्ने ओली पक्षका छन् ।

सांसद तान्ने क्रममा पूर्वएमालेका सांसदमध्ये बामदेवलाई डोल्पा खाली गरिदिने आश्वासनमा पर्यटन राज्यमन्त्री फुत्काएका धनबहादुर बुढा र गोपाल बमले ओलीपक्षमा हस्ताक्षर गरिदिएका थिए । पूर्व एमालेका पनि दुईजनाले दुबैतिर हस्ताक्षर गरेकाले अन्ततः प्रधानमन्त्रीको पक्षमा कूल सांसदको हस्ताक्षर ८१ जना मात्रै देखिएको थियो । पूर्व एमालेका डा.दिपकप्रकाश भट्ट र झापा आन्दोलनमा चौध बर्ष जेलजीवन बिताएका र नक्खू जेल ब्रेकर नरेश खरेल-पत्नी पवित्रा निरौलाले भने दुबैतिर हस्ताक्षर गरेनन् ।

पूर्व माओवादी समूहका प्रभु साहहरू केपी ओलीपछि को प्रधानमन्त्री भन्ने विषयमा छन् । उनीहरू प्रचण्ड प्रधानमन्त्री बन्नेभए आफूहरू ओलीको बिरुद्धमा लाग्ने अन्यथा,माधव नेपाल बन्ने हो भने ओलीलाई समर्थन गर्ने रणनीतिमा बसेका छन् । पूर्व माओवादीकै लेखराज भट्टहरूले मुखले बोले पनि हस्ताक्षर गरेका छैनन् । यिनै कारणले दुबैतिर आवश्यक बहुमत नपुगेको हो । तसर्थ,प्रधानमन्त्री सबै थोकको हिसाब गरेर अघि बढेको जस्तो देखिन्छ । ओलीपक्षले प्रतिनिधि सभामा ९२ जनाको हस्ताक्षर गराएको भन्ने हल्लाचाँहि निराधार देखियो ।

पूर्व एमालेका डा.दिपकप्रकाश भट्ट र झापा आन्दोलनमा चौध बर्ष जेलजीवन बिताएका र नक्खू जेल ब्रेकर नरेश खरेल-पत्नी पवित्रा निरौलाले भने दुबैतिर हस्ताक्षर गरेनन् ।

पूर्व एमालेका १ सय २१ जनामध्ये प्रधानमन्त्रीको पक्षमा गण्डकी प्रदेशका सबैजसो उभिएका छन् । त्यहाँका सांसदमध्ये कलिला खातुन (तनहुँबाट समानुपातिक) बाहेक अरु सबैले ओलीको पक्षमा हस्ताक्षर गरेका थिए ।

सुदूर पश्चिम प्रदेशमा पहिले वामदेव निकट भनेर चिनिएका धेरैजसो ओलीपक्षमा लागे । सम्भवतः भीम रावलसँग चिढिएर नरबहादुर धामी,गणेश ठगुन्ना,लालबहादुर थापा,भैरवबहादुर सिंहहरू थपिएपछि ओली सशक्त देखिएका हुन् ।

प्रतिनिधिसभाको संसदीय दलमा समग्र नेकपाभित्र बहुमतको लागि ८८ जना आवश्यक पर्छ । सभामुख अग्नि सापकोटाले मतदान गर्न पाउँदैनन् । तसर्थ, बहुमतको लागि कायम रहने ८७ जनाको लागि प्रधानमन्त्रीलाई पाँचदेखि छ जना नपुगेकै हो ।

पार्टीभित्रको विवाद खराब अवस्थामा पुगेर दल विभाजन गर्ने हो भने संघीय संसदको ४० प्रतिशत भए पुग्छ । उक्त संख्या प्रतिनिधि सभाबाटै पुग्छ । राष्ट्रिय सभाका ४९ जनामध्ये २६ जना ओली पक्षका छन् । तर पार्टी फुटाउने जस्तो संवेदनशील विषयमा भने ती सबै सहमत हुँदैनन् ।

सत्ताबाट कुनै हालतमा नहट्नको लागि प्रधानमन्त्रीले एकैचोटी सबै हतियारमा साँध लगाउनुभएको छ । सबैखाले तयारीमा प्रधानन्यायाधीश र अख्तियार प्रमुखसँग मध्यरात गरिएको भेटलाई पनि अर्थपूर्ण मानिएको छ । विवाद बढ्दै गयो भने सेना पनि प्रधानमन्त्री ओलीतिरै ढल्किने सम्भावना रहन्छ । किनकि जुनसुकै देशको सेनाले उदारवादीभन्दा अनुदारवादी नेतृत्वलाई नै रुचाउने गर्दछ ।

कलिला खातुन (तनहुँबाट समानुपातिक) बाहेक अरु सबैले ओलीको पक्षमा हस्ताक्षर गरेका थिए । बहुमतको लागि कायम रहने ८७ जनाको लागि प्रधानमन्त्रीलाई पाँचदेखि छ जना नपुगेकै हो ।

  • हरि गजुरेलबाट

टिप्पणीहरू