लकडाउनमा निमोठिएको न्याय
व्यथा हो मुगुको । मुगु अर्थात् दूरदराजको कथा । भूगोलले मात्र होइन, न्याय पनि यहाँ दूरदराजकै रहेछ । ०७७ साल । नयाँ वर्षको पहिलो महिनाको ४ गते । नयाँ वर्ष भए पनि देशभर कोरोना महामारीले माहोल नयाँ उमंगको थिएन । देशै लकडाउन भएका बेला मुगुको सोरु गाउँपालिकाको इलाका प्रहरी कार्यालय सोरुकोटभित्र न्याय नराम्ररी निमोठियो । एक त दलित परिवार अर्को पावर र पहुँच नभएकी धना नेपालीमाथि भएको जातीयहिंसा र महिला हिंसाको मुद्दा सांसदबाटै निमिट्यान्न पारिएको कथा हो यो ।
घटना के हो ?
कोरोना सन्त्रासका कारण लकडाउन भएर धेरै मान्छे जम्मा हुन र भोजभतेर गर्न नपाइने भए पनि नयाँ वर्षको बेला सोरु गाउँपालिका ४ तलिलिब्रुकी धना नेपालीको छिमेकी भानुभक्त मल्लकहाँ बिहे गरेर दिएकी छोरीको माइती मनाउने कार्यक्रम चल्दै थियो । मल्लका आफन्तले घर भरियो । नाचगान रमाइलो हुन थाल्यो । मल्ल र उनका आफन्तले रमाइलो गर्दा आडैमा रहेकी धनाको बारीका खुर्सानी र तरकारी मासिन थाले । बिहान–बेलुका आफूले खाने तरकारी नमासिए हुन्थ्यो भन्ने धनाको मनमा लाग्यो ।’ यस्तो लकडाउन छ केही कतै पाइन्न । यो तरकारी त नमासीकन रमाइलो गरे हुन्थ्यो नि !’ धनाले मुख फोरिन मल्लले सुन्ने गरी । धनालाई आफ्नो बारी मासिएकोमा चिन्ता थियो । तर, मल्लले उनको बारी मासिएकोमा पछुतो मानेनन् र माफ मागेनन् । उल्टै धनामाथि जाइलागे । अपशब्द बोल्दै हानेको मल्लको मुक्काले धना बारीमै पल्टिइन् । बेहोस धनालाई गाउँलेले पानी छर्केर उठाए । धनालाई जातीय आक्षेप लगाउँदै मल्लले गाली गरे ।
धनाका श्रीमान् त्यतिबेला घरमा थिएनन् । पछि श्रीमान्लाई घटना सुनाइन् । सकेसम्म वीरबहादुरले घरगाउँको कुरा बाहिर नजाओस् भन्ने चाहन्थे । उनले मल्ललाई किन यस्तो गरेको पनि भने । उल्टै उनीमाथि मल्ल र उनका परिवार जाइलागे र कुट्न थाले । दुवै जोईपोई मिलेर प्रहरी कार्यालयमा निवेदन लेखाउन गए । ‘जहाँ गए पनि जा, मलाई कसैले केही गर्न सक्दैन । मेरो पावर तँलाई थाहा छैन ।’ स्थानीय एक शिक्षकसमेत रहेका मल्लले धनालाई धम्क्याए ।
लकडाउनका बेला प्रहरी कार्यालयमा निवेदन पर्नु ठूलो कुरा भयो । गाउँलेका लागि यो अदालतको मुद्दा–मामिलाजस्तै थियो । प्रहरी कार्यालयमा निवेदन परेपछि भानुभक्त मल्लले अब पावरको सहारा लिए । उनले आफ्ना मावली दाइ प्रदेश सांसद चन्द्रबहादुर शाहीलाई खबर गरे ।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित शाहीले धनाले हालेको निवेदनमा प्रहरी कार्यालयबाट उचित छानबिन गरेर काम गर्न दिनुपर्ने थियो तर उनले गाउँका पञ्च भलाद्मी र प्रहरीलाई लकडाउनका बेला मुद्दामामिला ठीक होइन, मिलापत्र गर्नू भन्ने आदेश दिए । धनाका श्रीमान्, वीरबहादुरलाई घटना मिलाउने कुरा चित्त परेको थिएन । धनाले पनि आफूमाथि हातपात भएको र दलित भनेर अपशब्द प्रयोग गरी गाली गरिएको भनेर मिलापत्र गराउन मानिनन् । तर, गाउँले सबै भानुभक्त मल्लको पक्षमा उभिए ।
प्रहरी कार्यालयले पनि यो मुद्दा अन्यत्र लगेर पनि समाधान नहुने भन्न थाल्यो । मिल्ने भए मिल नत्र तिमीले दुःख पाउँछौ’ भनेर डर, धाक र धम्की देखाइयो । धनाले आफ्नो बलबुँताले भ्याएसम्म एकोहोरो हुन्न भनिरहिन् । उनका आफन्त नजिकका कोही थिएनन् । त्यसपछि क्षतिपूर्तिस्वरुप केही पैसा दिएर घटना सामसुम पारियो । यो कुरा धनालाई मन परेको थिएन, ‘मलाई अन्याय भएको हो । प्रहरी कार्यालयमा न्याय पाइन । महिला कल्याण संस्थासम्म पुग्न पाए पनि हुन्थ्यो कि ।’ धनाले भनिन् ।
हुन त धनाकै भोटले जितेर शाही अहिले सांसद छन् । हिंसा गर्ने आफ्ना भाइलाई बचाउन शाहीले प्रहरी र गाउँलेलाई कति दबाब दिए ? यो कुरा ति प्रहरी र गाउँलेलाई जति राम्रोसँग अरूलाई अरूलाई थाहा छैन । मिलापत्रको घटनाले वीरबहादुरका दाजुभाइमा पनि फाटो ल्यायो । उनका भाइ घटना मिलाउन नहुने कानुनी कारबाही खोज्नुपर्नेमा थिए । तर, वीरबहादुर प्रहरी कार्यालयमा एक्लै परे र सहमती पत्रमा रुँदै छाप ठोकिदिए । आफ्नी श्रीमतीमाथि छिमेकीले हातै हाल्दा पनि वीरबहादुरले लड्न सकेनन् न्याय पाएनन् । कारण दलित हुनु, निमुखा हुनु, पावर र पहुँच नहुनु ।
टिप्पणीहरू