ज्योति बैंकका हाकिमको नेत्रज्योतिमै समस्या !

 ज्योति बैंकका हाकिमको नेत्रज्योतिमै समस्या !

ज्योति विकास बैंकका सीईओ मनोज ज्ञवालीले बैशाख १५ गते एकाएक सामाजिक सञ्जालमा लामो विवरण लेखेर आफूले बैंक छाडेको जनाउ दिए । बैंकका स्वतन्त्र सञ्चालक जगदीश्वर अधिकारीले पनि जेठ ५ गते सामाजिक सञ्जाल मार्फत् बैशाख १५ गतेदेखि नै लागू हुनेगरी राजीनामा दिएको बताए ।

यसअघि अधिकारीले ज्ञवालीको राजीनामा सम्बन्धी सोसल स्टाट्समा प्रतिक्रिया लेखे ‘मनोजजी बैंकमा रहेर तपाईंले गर्नुभएको कामको मेरो उच्च मूल्याङ्कन छ । हाम्रो अहम्को कारणले सत्य स्वीकार गर्न नसकिने अवस्था रह्यो । राम्राभन्दा हाम्रा खोज्ने र व्यक्तिगत ईगो साँध्ने परम्पराको एउटा पछिल्लो उदाहरण तपाईं हुनुभयो, दुःख लागेको छ ।’

यसबाट के स्पष्ट हुन्छ भने, सीईओलाई नियम विपरित हटाएर बैंकका अध्यक्षलगायतले आफ्ना मान्छे ल्याउन खोजेका हुन् । साथै, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूबीच नियम, कानुनको पालना भन्दापनि अहम् बढ्दै गएकोतर्फ पनि अधिकारीले संकेत गरेका छन् । नभन्दै यतिखेर बैंकले जेठ १५ गतेभित्र आवेदन गर्न नयाँ सीईओको विज्ञापन गरेको छ ।

स्रोतकाअनुसार बैशाख १० गतेको बोर्ड बैठकले सीईओ हटाउने निर्णय गरेको थियो । बोर्डमा सीईओ हटाउने ठाडो प्रस्तावको अधिकारी र अर्का एकजना सदस्यले बिरोध गरेका थिए । उनीहरूले प्रचलित कानुन र नियमको अधिनमा रहेर हटाउने निर्णय गर्नुपर्ने बताएका थिए । तर, अध्यक्ष हरिचन्द्र खड्काको ठाडो प्रस्तावमा ज्ञवालीले सञ्चालक समितिका कतिपय काम आफैंले गरेको र राष्ट्र बैंकको निर्देशनबमोजिमको कल डिपोजिटको सीमा नघटाएको आरोप लगाइएको थियो ।

अध्यक्षको ठाडो प्रस्तावमा उल्लेख गरिएका आरोप ‘अमूर्त र नीहित स्वार्थ केन्द्रित’ रहेको स्रोतको दाबी छ । बोर्डले गर्ने कुन कुन काम सीईओले गर्यो भनेर आरोपमा नतोकिनुले पनि आशंकलाई बल मिलेको बताइन्छ । असार मसान्तसम्म झार्नुपर्ने राष्ट्र बैंकको कल डिपोजिटको निर्देशन पालनाबमोजिम बैंकले काम गरिरहेको कर्मचारीहरूनै बताउँछन् ।

बैशाख १० को बोर्ड बैठकमा सीईओ हटाउँदा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को अक्षरसः पालना गर्नुपर्ने र नपर्ने पक्षबीच चर्काचर्की नै परेको थियो । अधिकारीले बाफियाको दफा २९ (४) (२) मा रहेको ‘सीईओलाई पदबाट हटाउनुअघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ’ भन्ने व्यवस्थाको पालना गर्नुपर्ने बताएका थिए । अन्यथा, बेफ्वाँकमा सञ्चालक समितिले सुपरभाइजरी कारबाही भोग्नुपर्ने चेतावनी पनि दिएका थिए । ऐन, कानुन राम्रोसँग अध्ययन गर्न सुझाएका उनले कानुनी सल्लाहकारतर्फ औंल्याउँदै ‘बैंकको नाम ज्योति, काम नेत्रलालको’ जस्तो नहोस् नी भनेका थिए ।

ज्योतिमा लफडाको प्रारम्भ हाम्रो बैंक गाभेपछि हुन थालेको बताइन्छ । ‘पहिले राम्रोलाई च्यापिन्थ्यो, हाम्रो गाभेपछि राम्रालाई छाडेर हाम्रालाई च्याप्न शुरु भयो’ नाम नबताउने शर्तमा एकजना वरिष्ठ कर्मचारीले बताए । त्यसको उदाहरण सीईओ हटाएपछि बोर्डले दोस्रो नम्बरका कर्मचारीलाई छाडेर तेस्रो नम्बरका पारस राज कँडेललाई कायम मुकायमको जिम्मेवारी दिनुले पनि प्रष्ट हुन्छ । उनी यसअघि हाम्रो विकास बैंकमा थिए ।

स्रोतकाअनुसार कँडेलको शैक्षिक योग्यतामाथि लामो समयदेखि प्रश्नचिन्ह उठेको छ । तेस्रो नम्बरमा रहेकालाई कायम मुकायम सीईओको जिम्मेवारी दिँदा राष्ट्र बैंकले कैफियत लेख्नसक्ने सम्बन्धमा पछिल्लो बैठकमा कुरो उठेको थियो । तर, कँडेलले गभर्नर महाप्रसाद अधिकारीसँग आफ्नो व्यक्तिगत र पारिवारिक सम्बन्ध ‘अच्छा’ रहेकाले केन्द्रीय बैंकसँग ट्युनिङ्ग मिलाउने जिम्मामा शंका नगर्न भनेपछि बोर्ड सदस्यहरू दङ्ग परेका थिए ।

पारसले नेपालमा दस जोड दुईपछि भारतबाट चार्टर्ड एकाउण्टटेन्सी गरेका हुन् । उनले अहिलेसम्म त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाणपत्र पनि पाएका छैनन् । उनको योग्यतालाई हाम्रो विश्वविद्यालयले स्नातकोत्तरको मान्यता दिएको छैन । तर, बैंक तथा वित्तीय संस्थाको सीईओ हुन स्नातकोत्तर अनिवार्य छ ।

टिप्पणीहरू