मनीषालाई साथ दिँदै अभिनेता भुवन केसी भन्छन् : धैर्यताको पनि सीमा हुन्छ, श्रमको मूल्य दास बन्न हैन

मनीषालाई साथ दिँदै अभिनेता भुवन केसी भन्छन् : धैर्यताको पनि सीमा हुन्छ, श्रमको मूल्य दास बन्न हैन

भुवनले भने,सिमाना विवादको समाधान हुनुपर्छ भनेर मनीषाले राखेको धारणामा म र नेपालका सम्पूर्ण कलाकारहरु सहमत छौँ ।’

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो भूमि दावी गर्दै सडक निर्माण शुरु गरेपछि सिमाना विवाद उत्कर्षमा छ । यसबारे नेपाली चेली तथा भारतीय अभिनेत्री मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा रिट्वीट गर्दै तीन देशबीच समन्वयात्मक ढंगबाट यो विषयको समाधान हुनुपर्ने धारणा राखिन् । र, अहिले भारतीय सञ्चारमध्यम मनिषाविरुद्ध एकोहोरो खनिएको छ ।

यस्तो हुँदा पनि नेपालकै ख्यातिप्राप्त कलाकारहरु किन बोलिरहेका छैनन् ? जनआस्थाले अभिनेता भुवन केसीलाई सोध्यो ।

उनले मनीषाको प्रशंसा गर्दै भने, ‘हामी एकजुट भएर लाग्नुपर्ने बेला यही हो ।’

देशका लागि लड्ने अवसर सधै नमिल्ने भन्दै भुवनले भने, ‘हामीसँग भारतले बाटो बनाएको भूमि हाम्रै हो भन्ने कुरालाई प्रमाणित गर्ने ऐतिहासिक कागजात सुरक्षित छन् । अहिले भारतले चीनसँगको व्यापारिक र पर्यटन सम्बन्ध विस्तार गर्ने हेतुले हाम्रो जमिनमा सडक निर्माण गरेको छ । यसबारेमा नेपाल, भारत र चीनबीच समन्वय हुनुपर्छ र सिमाना विवादको समाधान हुनुपर्छ भनेर मनिषाले राखेको धारणामा म र नेपालका सम्पूर्ण कलाकारहरु सहमत छौँ ।’

जनआस्थाले सोध्यो, ‘अहिले मनीषाविरुद्ध भारतीय मिडिया खनिएका छन् । तपाईंहरु किन चूप लाग्नुभएको ?’

भुवनले भने, ‘नेपाली धैर्यवान हुन्छन् तर धैर्यताको पनि सीमा हुन्छ । म केही भारतीय मिडियाका साथीहरुलाई भन्न चाहन्छु कि, हाम्रो धैर्यतालाई कमजोरी ठानेर हाम्री चेलीमाथि जे पायो त्यही भन्ने सिलसिला अन्त्य गर्नुहोस् । हामी अहिले पनि भाइचारा सम्बन्धको पक्षमै छौँ । यही विषयलाई लिएर हामीबीच कुनै अप्रिय परिस्थिति नआअ‍ोस् भन्ने हाम्रो चाहना छ । तर, कतै त्यो परिस्थिति भारतीय च्यानलहरुले बनाइरहेका त छैनन् ?’

उनले भने, ‘मनीषाले मात्रै होइन, हामी प्रत्येक नेपाली आफ्नो स्वाभिमानलाई कसैको नूनसँग साट्दैनौँ ।’ उनको भनाइ छ, ‘एउटा श्रमिकले श्रम गरेर लिएको मूल्य (नून) दास बन्नका लागि होइन । मनीषा पनि भारतकी एक त्यस्तै श्रमिक कलाकार हुन्, त्यसबापत उनले लिएको मूल्यलाई दास बन्नुपर्छ भन्ने अर्थमा नबुझ्न अनुरोध गर्दछौँ ।’

भुवनले सिमाना विवादलाई दुई देशबीचको कूटनीतिक पहलबाट सुल्झाउनु समाधानको पहिलो विधि भएको र यदि त्यसरी समाधान हुन नसक्ने हो भने भारतले व्यापारिक र पर्यटन सम्बन्ध विस्तार गर्न चाहेको देश चीनलाई मध्यस्थकर्ता बनाएर यो विषयलाई निचोडमा पुर्याउन सकिने उपाय बताए ।

‘जसरी आज भारतीय मिडियामा हिलो छ्यापेर, एउटाले अर्कोलाई दोष लगाएर परिस्थितिलाई उत्तेजक बनाउने काम भएको छ, यसरी यो विषयको समाधान हुँदैन’, उनले बताए ।

धैर्यताको पनि सीमा हुन्छ । म केही भारतीय मिडियाका साथीहरुलाई भन्न चाहन्छु कि, हाम्रो धैर्यतालाई कमजोरी ठानेर हाम्री चेलीमाथि जे पायो त्यही भन्ने सिलसिला अन्त्य गर्नुहोस् ।

टिप्पणीहरू