भारत र चीन आफै भाउन्न

भारत र चीन आफै भाउन्न

अब कसैले पनि चाहेर वा नचाहेर थपिएको लामो भाग काटी नक्सालाई पहिलेको झैँ बुच्चो पार्न सक्दैन । संविधान संशोधनबाट नक्सासहितको निशानछाप पास भएपछि आगामी दिनमा कुनैपनि सरकारले सजिलैसँग नक्सा परिवर्तन गर्न सक्दैन र मिल्दैन पनि ।

नेपालले लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरिएपछि भारतीय मिडिया एकोहोरो नेपालबिरुद्ध खनिएका छन् । तथ्यहीन समाचार प्रकाशन र प्रशारण गरेर एक किसिमले मिडिया आतंक नै मच्चाएका छन् ।

यता, सरकारको पक्षमा नेपाली मिडियाले पनि त्यस्तै गर्नुपर्ने आशय प्रधानमन्त्री निकट नेताहरूले सामाजिक सञ्जालमा पोष्टेका छन् । लौ न हामीले पनि केहि गर्न पर्यो भन्दै अभियान शुरु गर्नुपर्यो भन्ने आशय व्यक्त गरेका छन् । तर, कसैले भने राष्ट्रियताको लडाईं एक्लै नभई मिलेर लड्नुपर्ने अन्यथा लडाईं नै कमजोर हुने लेखेका छन् ।

यस्ता तर्क वितर्कले के देखाउँछ भने, विगतको नाकाबन्दीताका झैं यसपटक प्रधानमन्त्रीले सोचेजति हाई हाई पाएका छैनन् । किनकि नेपाल -भारतबीचको सीमा विवाद सहज ढंगले समाधानको कामना गर्ने विद्वानहरूले नक्सा जारी भएपनि समस्या समाधान सजिलै नहुने ठानेका छन् ।

नेपालको नक्सामा अस्तिसम्म हामीले कालापानी र लिपुलेकलाई मात्र आफ्नो भूभागमा देखाउँदै आएका थियौं । यस्तो अवस्थामा अबको ठूलो काम भनेको कालापानी र लिपुलेकमा हाम्रो अधिकार स्थापित गरेर त्यहाँबाट भारतीय सेना र सुरक्षाकर्मीलाई फिर्ता पठाउनु हो ।

राष्ट्रवाद जुनुसुकै समुदायमा पनि एक खालको जिहाद हो । कसैले पनि त्यस्तो बेलामा वास्तविकता सजिलैसँग व्यक्त गर्न सक्दैन । धेरैलाई नेपालले कूटनीतिक नोटसँगै कूटनीतिक संयन्त्रलाई पनि घनिभूत ढंगले परिचालन गर्नुपथ्र्यो भन्ने लागेको छ ।

यतिखेर हामीले नक्सा जारी गरिसकेका छौं । अब कसैले पनि चाहेर वा नचाहेर थपिएको लामो भाग काटी नक्सालाई पहिलेको झैँ बुच्चो पार्न सक्दैन । संविधान संशोधनबाट नक्सासहितको निशानछाप पास भएपछि आगामी दिनमा कुनै पनि सरकारले सजिलैसँग नक्सा परिवर्तन गर्न सक्दैन र मिल्दैन पनि ।

अब यो समस्या त्यत्ति सजिलैसँग वार वा पार हुने अवस्था पनि देखिँदैन । भारतले हामीले दाबी गरेझैँ सर्लक्क उक्त भूभाग आफ्नो नक्साबाट काटेर दिनसक्ने अवस्था छैन । हामी वार्ताबाहेक अन्य कुनै माध्यमबाट लिनसक्ने कल्पना पनि गर्न सक्दैनौं । भावी दिनमा कुनैपनि शासकले सीमा समस्याले आजित बनायो भनेर नेपालको नक्सा पहिलेको झैँ बुच्चो बनाउँछु भन्न सक्दैन र मिल्दैन पनि ।

उता, भारतको आफ्नै रामकहानी छ । हाम्रोमा भन्दा उसका नागरिकमा उग्र राष्ट्रवादी सोच हावी छ । अतिवादीहरू भारतीय राष्ट्रवादलाई जिहाद नै ठान्छन् । केही समयअघि भारतीय र पाकिस्तानी सेनाबीच सीमाको बालकोटमा भएको सामान्य झडपमा भारतले एउटा काग खसालेको पाकिस्तानले प्रमाणसहित बतायो । तर, भारतीय सैनिकले त्यहाँ तीन सय जना आतंककारी मारिएको भन्दै चुनावी नतिजालाई उल्टोपुल्टो पार्ने काम भयो । त्यो अन्ध र उग्रराष्ट्रवादको परिणाम थियो ।

अर्कोतर्फ,आफ्नो हात तल पर्ने भएपछि भारत समस्या समाधानको लागि कहिल्यै अघि सर्दैन । बरु, समस्यालाई अनेकौं बहानामा अड्काइरहन्छ । दशकौंदेखि नेपालसँगको सीमा समस्या समाधानका लागि वार्तामा नबस्नु त्यसैको प्रमाण हो । अहिले लद्दाखभन्दा उत्तरतर्फ अरुणाचल प्रदेशमा उसले दाबी गरेको अक्साई चीनलाई चीन र भारत दुबैले आफ्नो नक्सामा समावेश गरेका छन् । र,दुबै देशले सँधै आफ्नो नक्सामा समावेश गर्दै आएका छन् ।

टिप्पणीहरू