पैसाको बिटो बोकेर हिँडेका अब्दुल समी महादेव मन्दिर नजिकै भेटिए
धनुषामा करिब २४ लाख नेपाली रुपैँयासहित एकजना भारतीय युवक समातिएका छन् । जनकपुरधाम उपमहानगरपालिका-२ कुवाँस्थित महादेव मन्दिर नजिकबाट अब्दुल समीलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
भारत विहारको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने-९ घर भएका १९ वर्षीय समी हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट नेपाली रकम २३ लाख ८९ हजार ४८० रुपैँया बरामद गरिएको छ ।
लोहनाबाट बीआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा जनकपुरधामतर्फ आउन लागेका समीलाई रोकेर चेकजाँच गर्दा रकम फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू