बोकालाई दाइँ, ज्योतिको र्‍याइँर्‍याइँ

बोकालाई दाइँ, ज्योतिको र्‍याइँर्‍याइँ

ऐन र निर्देशनमा तोकिएको स्पष्ट व्यवस्थालाई ठाडै इन्कार गरेर आफू अनुकूल विज्ञापन गर्ने हैसियत कहाँबाट पायो होला ? स्रोतको दाबी छ– ‘नियमनकारी निकायले आँखा चिम्लिदिएपछि उनीहरूले गर्ने नै त्यस्तै हो ।’

राष्ट्र बैंकले जारी गरेको निर्देशन र बाफियाको धज्जी उडाउने बैंक तथा वित्तीय संस्थाको सूचीमा ज्योति विकास बैंक पनि थपिएको छ । बैंकले रिक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदपूर्तिको लागि प्रकाशित गरेको सूचनामा केन्द्रीय बैंकको निर्देशन पालना गरेको देखिँदैन । उसले जेठ १ गते प्रकाशित निकालेको विज्ञापनमा आवेदकको उमेर ५५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

तर,राष्ट्र बैंकको एकीकृत निर्देशन,२०७६ को संस्थागत सुशासनसम्बन्धी व्यवस्थाको बुँदा ४ (२) मा ‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त/पुनः नियुक्तीको लागि योग्य हुने छैन । साथै, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहनसक्ने छैन’ भनिएको छ । यसबाट तोकिएको योग्यता पुगेको र ६५ वर्ष ननाघेका व्यक्तिले पनि सिईओको आवेदन भर्न पाउने देखिन्छ । तर, ज्योति विकास बैंकले राष्ट्र बैंकलाई ठाडो चुनौती दिएर आवेदकको उमेर हदलाई ५५ वर्षमा सिमित गरिदिएको छ ।

विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र अनुभव पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,२०७३ (बाफिया) बमोजिम छैन । ऐनको दफा २९ मा कुनैपनि बैंक तथा वित्तीय संस्थाको सिईओको शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण र विभिन्न संघ संस्थामा अधिकृत वा सोभन्दा माथिको पदमा कम्तिमा १० वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ । तर, ज्योतिको विज्ञापनमा १० होइन, १५ वर्षको अनुभव आवश्यक रहेको उल्लेख छ ।

ऐन र निर्देशनमा तोकिएको स्पष्ट व्यवस्थालाई ठाडै इन्कार गरेर आफू अनुकूल विज्ञापन गर्ने हैसियत ज्योति बैंकले कहाँबाट पायो होला ? स्रोतको दाबी छ– ‘नियमनकारी निकायले आँखा चिम्लिदिएपछि उनीहरूले गर्ने नै त्यस्तै हो ।’

केन्द्रीय बैंकको नियमन र सुपरीवेक्षण कार्य फितलो हुँदै गएको हालै सेवा निवृत्त एकजना कार्यकारी निर्देशकले पनि स्वीकारेका छन् । भन्छन्– ‘यो राष्ट्र बैंकले अनुभवीलाई हटाएर आलोकाँचोलाई हाकिम बनाउँदै बोकाबाट दाईं गराउन खोजिएको परिणाम हो ।’

टिप्पणीहरू