वामदेवले त्यसो भन्दा…
अहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा निकै जोडसँग उठेको छ । तर, यो विषयमा पहिलोचोटि भारतीय प्रधानमन्त्रीसँग ठाडठाडै कुरा गर्ने नेता को थिए ? खोजी र चर्चा गरिएको छैन ।
२०५४ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा तत्कालिन नेकपा (एमाले) का तर्फबाट उपप्रधान तथा गृहमन्त्री बन्नुभएका वामदेव गौतमले हो, पहिलोपटक भारतीय संस्थापनसँग कालापानीबारे कडिकडाऊ कुरा गर्नुभएको ।
नेपाल भ्रमणमा आउनुभएका तत्कालिन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालसँग गरिने वार्ता र सम्झौताको सूचीमा कालापानीको विषय थिएन । सामान्यतया औपचारिक भ्रमणमा आउने कुनै देशका राष्ट्र वा सरकार प्रमुखसँग निर्धारित सूचीभन्दा बाहिर गएर कुरा गरिँदैन, गर्ने प्रचलन हुँदैन ।
तर, राष्ट्रियताको विषय भएपछि वामदेवले त्यो धैर्यता राख्न सक्नुभएन । र, गुजरालसँग भन्नुभयो, ‘महामहिम, म अलिकति फरक विषयमा कुरा गर्न चाहन्छु ।’
गुजरालले अनुमति दिएपछि वामदेवले भन्नुभयो, ‘सबैखाले प्रमाणहरुले कालापानी नेपाली भूभागमा पर्छ भन्ने पुष्टि हुन्छ । तर, त्यहाँ वर्षौंदेखि भारतीय सेना क्याम्प खडा गरेर बसेको छ । यो कुरालाई नेपालीले आफ्नो राष्ट्रिय अस्मितासँग जोडेर हेर्ने गरेका छन् । त्यसैले त्यहाँबाट भारतीय फौज हट्नुपर्यो ।’
वामदेवले ‘दसी प्रमाणहरु संकलन गरेर छलफल गरौँ’ भनेपछि प्रधानमन्त्री गुजराल गम्भीर हुनुभयो । ‘दिल्ली फर्किएर छलफल गराउँछु’ भन्ने जवाफ पाएपछि वामदेव चूप लाग्नुभयो । दिल्ली गएर गुजरालले त्यहाँको सीमा समस्या समाधान कमिटीलाई तताउनुभयो ।
वीचैमा उहाँको सरकार ढल्नाले त्यो मुद्दा अझै सुल्झिएन ।
टिप्पणीहरू