आपत छ अमेरिकालाई नै
करोडौं बेरोजगारलाई भत्ता खुवाउन परिरहेको अमेरिकी अर्थतन्त्रलाई कोरोनाले थप प्रभाव पार्ने भएपछि यस्ता सहयोग नेपाललाई दिने कि नदिने भनेर अमेरिका कहिले यौटा निश्कर्षमा पुग्ला ?
कोरोना संक्रमणका कारण अत्यधिक मृत्युदर व्यहोर्ने अमेरिकाको अर्थतन्त्र कहाँ पुग्छ ? यसबारे स्वयं त्यहीँका अर्थशास्त्रीहरु केही भन्न सकिरहेका छैनन् । तर,त्यहाँबाट आउने भनिएको एउटा सहयोग परियोजनालाई लिएर नेपालमा माथापच्ची जारी छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) जसरी पनि पारित हुनुपर्नेमा सत्तारुढ दलको पनि प्रधानमन्त्री पक्षधर सांसद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सबैजसो सांसद छन् । यसवारे बालुवाटारमा तीव्र बहस र छलफल चलिरहेको छ । तर,ती छलफल प्राविधिक विषयमा मात्रै केन्द्रित छन् ।
छलफलका क्रममा सम्झौता भएका केही विषयलाई संशोधन गरेर पारित गर्न सकिने अधिकांश सांसदको धारणा थियो । कतिपय कुरा इन्डोप्यासिफिक रणनीतिको अंग होइन यो,अमेरिकाले लिखतमा भनोस् भन्ने कुरा बालुवाटार बैठकमा उठेको छ ।
उक्त परियोजनाका खर्चको लेखा परीक्षण नेपालले गर्न नपाउने,बौद्धिक सम्पत्तिमा कुनै हक नलाग्नेजस्ता कुरामा आपत्ति जनाइएको छ । अचम्मचाहिँ के छ भने, बद्लिँदो विश्व शक्ति सन्तुलनलाई सामना गर्ने गरी अमेरिका आफ्नो पोजिसन स्पष्ट पारेर अगाडि बढ्दैछ । एमसिसी पास गरेर जाने कुरालाई घुमाउरो हिसाबले नीति तथा कार्यक्रममा हालिएको छ । अनि, पार्टीका सांसदलाई पत्रमार्फत पहिले नै ह्वीप लगाइसकिएको छ ।
प्रधानमन्त्रील ‘एमसिसी पास गर्ने कि नगर्ने, यही संसदको हातमा छ’ भनिसक्नुभएको छ । यस्तो स्थितिमा एमसिसीको विपक्षमा रहेका केही मन्त्री नै रनभूलमा परेका छन् । विरोध गरौँ,जागिरको कुरा । गरौँ, पोलिटिकल पोजिसन बिग्रने खतरा ।
नेकपाभित्र केही सांसदको स्थिति काम्लामा सातु मुछेपछि घिनाउनु हुँदैन भनेजस्तो छ । स्थायी कमिटी,केन्द्रीय कमिटीमा एमसिसीबारे विस्तृतमा छलफल भयो । कार्यदल बन्यो । तर, कार्यदलको सिफारिसमाथि छलफल हुँदैन,कार्यान्वयन त झन् कहाँ हो कहाँ । अहिले पनि बैठक छल्दै–छल्दै चटकी पारामा अनुमोदन गराउने नियत लुकेको आरोप नेकपाका नेताहरुले लगाइरहेका छन् ।
थाहा छैन, करोडौं बेरोजगारलाई भत्ता खुवाउन परिरहेको अमेरिकी अर्थतन्त्रलाई कोरोनाले थप प्रभाव पार्ने भएपछि यस्ता सहयोग नेपाललाई दिने कि नदिने भनेर अमेरिका कहिले यौटा निश्कर्षमा पुग्ला ? कतिपय नेकपाका नेताहरु भन्दैछन्, ‘बरु आजभोलिमै त्यस्तो कुरा आइदिए पार्टीको पनि लाज ढाकिन्थ्यो ।’
टिप्पणीहरू