धन्न, अर्को कैलाली काण्ड दोहोरिएन

धन्न, अर्को कैलाली काण्ड दोहोरिएन

नेपाल छिरे पनि त्यो रात या उनी आफ्नै गाउँ गएनन् या गाउँले उरालेर गायब भए

सामुहिक संहारको अभियोगमा थुनिएका काँग्रेस सांसद मोहम्मद अफताब आलमको भाइलाई पक्रने भन्दै बिहीबार राती रौतहटमा प्रहरीले १२ राउण्ड हवाई फायर गर्यो । रौतहट प्रहरीलाई थाहै नदिई प्रदेश डिआईजीको निर्देशनमा बाराबाट प्रहरीको १० जनाको सिभिल टोली मध्यरात राजपुर पुगेको थियो ।

सम्बन्धित जिल्लाको सिडियो र प्रहरी प्रमुखलाई बाराबाट खटिई गएको टोलीबारे जानकारी दिइएको थिएन । प्रहरी टोली सीमाको जंगलको बाटो हुँदै राजपुर गएको हो । छापामार शैलीमा आलमका भाइ महताव आलमलाई पक्रन जादा मध्यरातमा डाँकाहरू आएको भन्दै गाउँलेले होहल्ला गरेपछि आफ्नै ज्यान जोगाउन हवाई फायर खोल्नुपरेको थियो ।

रौतहट प्रहरीलाई टोलीबारे कुनै जानकारी नभएकाले रातको समयमा भएको फायर डाँकाहरूबाटै गराइएको निश्कर्ष सबैले निकाले । त्यतिखेरसम्म बाराको टोली गाउँलेको घेरामा परिसकेको थियो । रौतहट प्रहरीले थाहा पाएपछि मात्र उनीहरू जोगिएका हुन् । नत्र, घटनाक्रमले कैलाली काण्ड दोहोरिने पक्का भइसकेको थियो ।

खुँखार अपराधीको मतियार पक्रन गएको टोलीलाई उल्टै मध्यरातमा रौतहट प्रहरीले उद्दार गर्नुपर्यो । बेलैमा उद्धार नगरेको भए सिभिल टोलीलाई गाउँलेले त्यहिँ धुलोपिठो बनाउने पक्का थियो । रातको समय डाँकाको प्रतिकारमा गाउँले घरेलु हतियारसहित उर्लिएका थिए । समन्वयको अभावमा खोजेको मान्छे फेला परेन,बेकारमा हल्ला मात्र भयो !

आलम रमजान मनाउन भारतबाट घर आएको आशंकामा डिआईजीले उक्त योजना बनाएका थिए । सूचना भरपर्दो नै थियो तर, नेपाल छिरे पनि त्यो रात या त उनी आफ्नै गाउँ गएनन् या गाउँले उरालेर गायब भए। भारतमा बस्ने आलमको नयाँ दिल्लीमा लेदर ब्याग,जुत्ताको कारखाना रहेको बताइन्छ ।

टिप्पणीहरू