अमेरिका जाने जहाजमा नेपाली पनि उडे
लकडाउनले देश ठप्प भएको बेला यस्तो कमाऊ धन्दामा लागेका व्यक्ति वा कम्पनीलाई ठीक पारोस् कसले ?
अमेरिकी दूतावासको अनुरोधमा आइतबार ३ सय ८ यात्रुले नेपाल छोडे । त्यसक्रममा १ सय २४ नेपाली पनि उडे । तर, थुप्रै नेपालीले भने तेब्बर भाडा बुझाउँदा पनि उड्न पाएनन् ।
पीडितहरु उजुरी बोकेर जिल्ला प्रशासन पुगे,दर्ता गर्ने कर्मचारी थिएनन् । प्रहरीमा गए, उसले सीधै केही गर्न, भन्न सक्ने ठाउँ थिएन । फलतः उडान व्यवस्थापनको काम गरेको दरबारमार्गस्थित प्रेसिडेन्ट ट्राभलले प्रतिनेपाली तीनदेखि पाँच लाख रुपैयाँसम्म असुलेर उडान गरायो । जबकि, सामान्य अवस्थामा अमेरिकाको आतेजाते टिकट दर एकदेखि सवा लाखभन्दा बढी थिएन ।
तर, लकडाउनले देश ठप्प भएको बेला यस्तो कमाऊ धन्दामा लागेका व्यक्ति वा कम्पनीलाई ठीक पारोस् कसले ? त्यसमाथि उड्ने यात्रु अमेरिका पुगिसके । तिनले बढी रकम असुलेको प्रमाण दिने सम्भावना कम छ । यता, दोब्बर पैसा दिन्छु भन्दा पनि ट्राभलले पैसा नलिएका पीडितको कुरा पत्याएरमात्र के गर्नु, प्रमाण नभएपछि ।
आइतबार साँझ ७ बजेर ४४ मीनेटमा कतार एयरलाइन्सको क्युआर ३१६१ नम्बरको उडानबाट अमेरिका जाने अमेरिकी नागरिकको संख्या भने १ सय ५९ मात्र थियो । उक्त जहाजमा १ सय २४ नेपालीसहित सात बेलायती, पाँच न्युजिल्याण्ड, चार क्यानाडा, तीन इरान, दुई भूटानका नागरिकसहित एक–एकजना इटाली, फ्रान्स, जर्मन र इजरायलका यात्रु थिए ।
टिप्पणीहरू