सामूहिक बलात्कार आरोपितविरुद्ध १५ वर्ष कैद माग
१९ वर्षीया किशोरीमाथि पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ ।
विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र वडा नम्बर ४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार जबरजस्ती करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद सजाय हुन्छ भने सामूहिक करणी भएकाले थप पाँच वर्ष कैद थपिन सक्छ । उनीहरुविरुद्ध १५ वर्ष कैद र पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।
आज र भोलि बिदा रहेकाले पर्सि मात्र प्रतिवादीहरुसँग बयान लिने बताइएको छ । त्यसपछि म्याद थप्न वा धरौटीमा रिहा गर्ने निश्कर्ष निकालिने बताइएको छ । म्याद थप भएमा थुनछेक बहस शुरु हुने सूचना अधिकारी बुढाथोकीले बताए ।
किशोरीमाथि बलात्कार गरेको आरोपमा दुवै कराँते प्रशिक्षक गत साउन ८ गते पक्राउ परेका थिए । सुनसरीको इटहरी घर भइ विराटनगरस्थित बिराट हेल्थ कलेजमा अध्ययनरत छात्रामाथि राउत र सुवेदीले पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । सुवेदी छात्रा पढ्ने कलेजकै अनुशासन प्रमुख (डीआई) हुन् भने राउत उनका साथी हुन् ।
टिप्पणीहरू