उमेर समूहभित्रको बलात्कार झन भयंकर
एकपछि अर्को गर्दै नेपालमा राजनीतिज्ञ, कलाकार, खेलाडीसम्मका यौनजन्य हिंसा र बाल यौन दुराचारका घटना पटाक्षेप भइरहेका छन् । खासमा उमेरको हद निर्धारणमा सामाजिक अध्ययन नगरिँदा र कानुनको प्रयोग व्यवहारिक नहुँदा यस्ता घटना बाहिर आएको जानकारहरू बताउँछन् ।
खाना, मौसम र सामाजिक बनावटका कारण बालबालिकाहरूको मानसिक र शारीरिक ढर्रामा अन्तर आएको छ । हार्मोनको विकासक्रमसँगै बालिकाहरूको शारीरिक स्वरूपमा फरकपना देखिन थालेको छ । त्यसैले उमेर नपुगेका बालिकामाथि उमेर पुगेका पुरुषबाट भन्दा बढी समान उमेर समूहबाट हुने हिंसा र शोषणको रफ्तार बढ्दो छ । बाहिरी प्रचारमा सांसदका नाम आए, कलाकार र खेलाडी विवादमा मुछिए ।
तर, समान उमेर समूहमा हुने यौनजन्य क्रियाकलाप, त्यसले उत्पन्न गरेको पारिवारिक, सामाजिक र कानुनी झमेलाबारे उति चर्चा भएको छैन । प्रहरी र स्थानीय तहमा यस्ता थुप्रै घटना पुगेका छन्, जसले उमेर पुगेका पुरुषबाट भन्दा बढी बालिकाहरू समान उमेरका पुरुषबाट खतरामा छन् भन्ने देखाउँछ । बढि उमेरकाले नाबालिकालाई करणी गर्दा पल शाह र सन्दिप लामिछानेहरूले सोको सजायँ पाउनु स्वाभाविकै भयो तर कम उमेरकाले त्यसरी नै बलात्कार गरेको हकमा कुन कानुन आकर्षित हुने ? अहिले स्कुल, कलेजमा यो समस्या भुसको आगोझैं सल्किएको छ ।
नेपालको कानुन कस्तो छ भने, १६ वर्षमा नागरिकता पाइन्छ । तर, बालबालिकाबाट मुक्त हुन १८ वर्ष कट्नुपर्छ । समस्याचाहिँ १६ र १८ वर्षभित्रैमा छ । कलिलो उमेरमै स्कुलबाट भाग्ने र स्वेच्छाले वैवाहिक सम्बन्ध गाँस्ने, कुरा नमिल्दा फर्केर जकमा मुद्दा हाल्ने जस्ता घटना भइरहेका छन् । नेपालमा अन्तर्राष्ट्रिय बाल सन्धिको उमेरलाई कायम गरिँदा १६ र १८ को झमेला आइलागेको हो ।
छिमेकी भारतमै १६ वर्षसम्मलाई मात्रै नाबालक भन्ने कानुन छ । त्यस्तो उमेरसीमा कायम गर्नुपर्ने बाध्यतामा कुनै पनि देश हुँदैन । विवाहको उमेर २० वर्ष राखिनु पनि अन्तर्राष्ट्रिय बालसन्धिकै अभ्यास हो । नेपाली समाजको सामाजिक र साँस्कृतिक मान्यतासँगै चेतनास्तरका आधारमा यस्ता विषयहरू निर्धारित हुनुपथ्र्यो । जस्तो कि, अति विकासशील मुलुक अमेरिका, क्यानाडामा १४–१५ वर्षकै उमेरदेखि नाबालिकाको सीमा कट्छ भने दक्षिण कोरियामा २१ वर्षपछि मात्रै विवाहको अनुमति छ ।
टिप्पणीहरू