छिमेकी भिडन्तको चपेटामा नेपाली सन्तान

छिमेकी भिडन्तको चपेटामा नेपाली सन्तान

गोर्खा रेजिमेण्टको आवरणमा नेपाली नागरिकको मृत्यु भएमा नेपालीहरूमा अर्को ‘सेन्टिमेण्ट आन्दोलन’  नभड्केला  भन्न सकिँदैन । उता, चीनले पनि आफूबिरुद्ध भारतले नेपाली नागरिकको प्रयोग गरेको भन्दै नेपालसमक्ष कडा आपत्ति जनाउनसक्ने सम्भावना पनि बढेको छ ।

अस्ति भारत र चीनबीच पूर्वी लद्दाखको गलवन उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सेनाको हताहती भएको छ । बिदामा परिवारसँग भेटघाट गर्न नेपाल आएका गोर्खा रेजिमेण्टका सैनिकलाई भिडन्तपछि भारतीय सेनाले बिदा छोट्याएर ब्यारेक फर्कन उर्दी जारी गरेको समाचार पनि बाहिरिएको छ ।

पाकिस्तान,चीन र बाङ्ग्लादेश मात्र नभै भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा समेत तीन हजार भन्दाबढी भारतीय गोर्खा रेजिमेण्टका सैनिक तैनाथ गरिएको छ । भारतीय सुरक्षा नीतिअनुसार अप्ठेरो ठाउँ र भिडन्तको सम्भावना भएपछि गोर्खा रेजिमेण्टका सैनिकलाई नै खटाउने गरिन्छ । अस्ति भिडन्त भएको गलवनमा यसअघि नखटाइए पनि अब गोर्खा रेजिमेण्ट खटाउने सम्भावना प्रवल छ । यस्तो अवस्थामा अब हामीले दुई देशबीचको लडाईंमा भारतीय सेनाको भेषमा नेपाली दाजुभाइलाई खटाउन नहुने चर्को आवाज उठाउन आवश्यक भइसकेको छ ।

तर,भारतीय पक्षले सेनाको तलब र सुविधा दिएर पालेपछि गोर्खा मात्र होइन,राजपुत,मेरठलगायत सबै रेजिमेण्टका सैनिकलाई मुलुकमा आपत् परेको बेला खटाउने नीति हो । भारतको धारणा जे जस्तो भएपनि चीन र भारत दुबै हाम्रा घनिष्ठ छिमेकी मित्रराष्ट्र हुन् । तसर्थ,कालान्तरसम्मको हित हेर्ने हो भने नेपालले आफ्ना नागरिकलाई अब विश्वका कुनैपनि देशको सेनामा भर्ती हुनबाट रोक्नुपर्छ । बेला यही हो !

हाम्रो राष्ट्रहितको लागि पनि यो आवश्यकता टड्कारो छ । एउटा मित्रराष्ट्रको लागि अर्को मित्रराष्ट्रसँग भिड्ने र मारिनेमा हाम्रा नेपाली दाजुभाइको दुरूपयोग भएको कोणबाट विश्लेषण गर्न ढिलो भइसकेको छ । गोर्खा रेजिमेण्टको नाममा भारत,बेलायत,सिङ्गापुर सबैतिरको सेना र प्रहरीमा नेपाली नागरिक भर्ना हुने र गर्ने प्रवृत्तिमा रोक लगाउन सरकारले अब ढिलाई गर्न नहुने आवाज उठेको छ ।

कथम्कदाचित गलवनमा भारत र चीनबीच भएको र हुने भिडन्तमा गोर्खा रेजिमेण्टको आवरणमा नेपाली नागरिकको मृत्यु भएमा नेपालीहरूमा अर्को ‘सेन्टिमेण्ट आन्दोलन’  नभड्केला  भन्न सकिँदैन । उता, चीनले पनि आफूबिरुद्ध भारतले नेपाली नागरिकको प्रयोग गरेको भन्दै नेपालसमक्ष कडा आपत्ति जनाउनसक्ने सम्भावना पनि बढेको छ । त्यस्तो अवस्था आयो भने हाम्रालागि थप चुनौती उत्पन्न हुनेछ ।

उता,पाकिस्तानले धेरै पटक नेपालसमक्ष त्यस्तै गुनासो गर्दै आइरहेको छ । भारतले विवादित कश्मिर र पाकिस्तानको विवादित सीमानाको अग्र मोर्चामा सँधै गोर्खा रेजिमेण्टका सैनिकलाई खटाउँदै आएको छ । विगतमा बेलायत र अर्जेन्टिनाबीच सन १९८४ मा फकल्याण्ड युद्ध हुँदा गोर्खा बटालियन नै खटिएको थियो । अधिकांश नेपाली नागरिक रहेको गोर्खा सैनिकले अर्जेण्टिनालाई उक्त युद्धमा हरायो । राष्ट्रियता र सार्वभौमसँग जोडिएको विषयको बदलास्वरूप हालसम्म कुनैपनि नेपाली नागरिकलाई अर्जेण्टिनाले कूटनीति र अफिसियल भिसाबाहेक पर्यटक भिसा दिएको छैन ।

पछिल्लो तथ्यांकअनुसार भारतीय सेनामा ३२ हजार भन्दाबढी नेपाली भर्ना भएका छन् । गोर्खा राइफलका सातवटा पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं, नवौं र एघारौं रेजिमेण्ट भारतीय सेना अन्तर्गत रहेको छ । भारतको स्वतन्त्रतापछि दोस्रो, छैठौं, सातौं र दशौं गोर्खा रेजिमेण्ट भने बेलायती सेनाअन्तर्गत रहेको छ ।

नेपालमा रहेका भारतीय गोर्खा रेजिमेण्टको पेन्सन वितरण क्याम्पहरू पनि हाम्रोलागि टाउको दुखाईको विषय बन्न थालेको छ । भारतले रणनीतिक हिसाबले मुलुकभित्र पोखरा,तनहुँ र धरान लगायत पहाडी भूभागमा धेरै अघिदेखि यस्तो क्याम्प राखेको हो । केही वर्षअघि बुटवलमा पनि पेन्सन क्याम्प खडा गरेको छ । मुलुकका विभिन्न १८ स्थानमा वर्षको दुई पटक पेन्सन वितरणको नाममा अस्थायी क्याम्पसमेत खडा गर्दै आइरहेको छ ।

बुटवलमा पेन्सन क्याम्प राख्ने क्रममा सरकारी तवरमा ठूलै लफडा भएको थियो । सबैले बुटवलमा क्याम्प राख्ने विषयमा मौनता साँधेपनि परराष्ट्र मन्त्रालयले आफ्नो बुताले भ्याएसम्म त्यसको बिरोध गरेको थियो । तर, तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीको विशेष पहलमा सरकारले दिनै नमिल्ने बुटवलको जग्गामा पेन्सन क्याम्प राख्न अनुमति दिएको थियो ।

फकल्याण्ड युद्ध हुँदा गोर्खा बटालियन नै खटिएको थियो । बदलास्वरूप हालसम्म कुनैपनि नेपाली नागरिकलाई अर्जेण्टिनाले पर्यटक भिसा दिएको छैन ।  

टिप्पणीहरू