दशैंसम्म कर्मचारी नेतालाई छुट

दशैंसम्म कर्मचारी नेतालाई छुट

पूर्व राजा वीरेन्द्र शाहको सबै सदस्य ढलेको दिन अर्थात १९ जेठबाट अवैध भएको एउटा संस्थाले १३ दिनपछि वैधता पाएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको म्याद हाललाई ४ महिनाको लागि थप भएको हो । अब आधिकारिक ट्रेड युनियको निर्वाचन २४ असोजमा गर्नुपर्ने गरी मिति तय भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षाजन्य विभागले आगामी २४ असोजमा निर्वाचन गर्ने गरी निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको म्याद ४ महिनाका लागि थपेको पत्र थमाएको छ । आधिकारिक ट्रेड युनियनको विधान ०६९ को दफा २४ मा कार्यकाल निर्वाचन भएको मितिले ४ बर्षको हुने र समय अगावै अर्काे निर्वाचनको मिति तय हुन नसकेको अवस्थामा विशेष परिस्थितिमा एक बर्ष म्याद थप्न सकिने व्यवस्था छ । सोही व्यवस्था प्रयोग गर्दै विभागकी शाखा अधिकृत कल्पना खनालद्वारा हस्ताक्षरित पत्रले आधिकारिक ट्रेड युनियनलाई अबको ११० दिन निर्वाचन गर्न म्याद दिएको हो ।

तर कर्मचारीका नेताहरु २४ असोजभित्रमा सिबिएको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दछन् । नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले जनआस्थासँग भने,सिंगो मुलुक कोरोनासँग जुधिरहेको बेला अहिले पहिलो प्राथमिकतामा सिबिएको निर्वाचन पर्दैन । त्यसमाथि सिबिएको संरचना अहिले संघमा मात्र केन्द्रित छ । निर्वाचन हुनु ७५ दिन अघि नै निर्वाचन अधिकृत तोक्नुपर्ने कानुनी व्यवस्था छ । यी सबै व्यवस्थाका कारण असोजमै सिबिएको निर्वाचन हुन मुस्किल छ । आगामी चैत्रभित्रमा मात्र सिबिएको निर्वाचन हुनसक्छ ।

मुलुक संघीयतामा गए पनि अहिले आधिकारिक ट्रेड युनियन संरचना एक तहको (संघमा) मात्र छ । प्रदेश र स्थानीय सरकारसँग सौदाबाजी गर्ने गरी सिबिए गठन गर्नुपर्ने अबस्था छ । यस्तै सिबिएको मतदाताका रुपमा कर्मचारी समायोजन भएर संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई त्यही तहका सिबिएको मतदाता बनाएर नामावली टुंगो लगाउनु पर्ने छ । यी यावत बिषयहरु टुंग्याएर आगामी २४ असोजभित्रै निर्वाचन गर्न असम्भव हुने आधिकारिक ट्रेड युनियनकै एक नेताले जनआस्थासँग सुनाए । आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि झण्डै १५ करोड खर्च हुने आँकलन गरिएको छ ।

टिप्पणीहरू