गोलीबाट जोगिए, लग्यो क्यान्सरले

गोलीबाट जोगिए, लग्यो क्यान्सरले

०४६ सालको ज्युँदा शहीद भनेर चिनिने विजयराज घिमिरेको क्यान्सरका कारण भदौ ३० गते साँझ प्राणपखेरु उड्यो । पाल्पाली कांग्रेसका हठी नेता घिमिरेको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । युवा नेता घिमिरेले छोटो समयमा बहुआयामिक परिचय स्थापित गरेका थिए । विक्रम संवत २०२५ सालमा पाल्पामा जन्मिएका घिमिरेको आर्थिक क्षेत्रमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट र राजनीतिक क्षेत्रमा कुशल संगठकका रूपमा बहु पहिचान छ । ०४६ को पहिलो दिन फागुन ७ गते । पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गरेका घिमिरेलाई ताकेर प्रहरीले गोली हानेको थियो । संयोगवश सँगै रहेका सहोदर दाजु सूर्य घिमिरेलाई लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो । भाइ विजय भने बाँच्न सफल भए ।

त्यतिबेला २१ बर्षको उमेरमा घिमिरेले आन्दोलनको नेतृत्व गरेका थिए । त्यसपछि राजनीतिमै सक्रिय रहे । पाल्पाको क्षेत्र नं. १ मा दुई पटक संघीय संसद्का लागि उम्मेदवार बने तर हार व्यहोर्नुपर्यो  । २०४३ सालमा काठमाडौंस्थित अमृत साइन्स क्याम्पसको स्ववियु सदस्य हुँदै राजनीतिक यात्रा शुरु भएको थियो । प्रतिभाशाली घिमिरे १८ बर्षकै उमेरमा पाल्पा कांग्रेसको जिल्ला सदस्य बने र मण्डलेको आक्रमणमा परी २०४४ सालमा झण्डै मरेका थिए । प्रतिबन्धित नेपाली कांग्रेसले पाल्पा रामपुरको बेझाडमा पुनर्मिलन कार्यक्रम आयोजना गरेको थियो । मण्डलेहरूले त्यहीँ सांघातिक आक्रमण गरे । म¥यो भनेर भीरबाट खोलामा फाले । पछि मरेको भन्ठानेर लाश ल्याउन गएका सहकर्मीहरूले बेहोस अवस्थामा भेटे । तत्काल उपचार गर्न दौडाए ।

प्रहरीले गोली हानेपछि भागेर घर पुगेका विजयले सुत्केरी हुन लागेकी श्रीमतीलाई छोरी जन्मे ‘चारतारा’ र छोरा जन्मे ‘जयनेपाल’ नाम राख्न लगाएका थिए रे ! ‘म जनआन्दोलनका लागि जहाँ गए पनि तिनैलाई हेरेर चित्त बुझाउनु । मेरो खोजी नगर्नु’ भन्दै भूमिगत भएको उनका तत्कालीन सहकर्मी कांग्रेस नेता बताउँछन् । नभन्दै श्रीमतीले छोराको नाम जयनेपाल राखिदिएकी थिइन् । उनी भागेपछि रिसले क्रुद्ध बनेको प्रहरीले बहिनी शकुन्तलालाई पक्राउ गरी जेल हालेर यातना दिएको थियो । पटक–पटक मृत्युको नजिक पुगेर फर्किएका उनै घिमिरे गत भदौ ३० गते क्यान्सरबाट पराजित भएका छन् ।

टिप्पणीहरू