नाला खन्दा भेटियो मूर्ति

नाला खन्दा भेटियो मूर्ति

नेपालगञ्ज उपमहानगरपालिका– ७ मा नाला खन्दा भगवान शिवको मूर्ति भेटिएको छ ।

वर्षायाममा नाला सफाई नहुँदा डुबान हुने गरेका कारण पूर्वतयारी गर्दै डोजरले सबै नाला सरसफाइ गर्ने क्रममा गगनगन्जनजिक उक्त मूर्ति भेटिएको हो ।

नालाको वरिपरि खेल्न गएका बालबालिकाले सेतो टल्किने वस्तु देखेपछि अरुलाई खबर गरेको र सो ठाउँमा गई हेर्दा मूर्ति भेटिएको बताइएको छ ।

दुई मिटर गहिरो नालामा २ फुट बराबरको उक्त रत्नजडित मूर्ति भेटिएपछि स्थानीय तथा नाला सरफाइमा संलग्नहरुले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणालगायतलाई खबर गरेका थिए ।

राणाको रोहवरमा मुचुल्का उठाई उक्त मूर्ति गगनगन्जस्थित रामजानकी मन्दिरमा राखिएको छ । चाँदीको आकर्षक मूर्ति भेटिएपछि आश्चर्य प्रकट गर्दै हेर्नेहरुको भिड लागेको छ । दर्शनार्थीले साक्षात् शिवको दर्शन भएको भन्दै पूजा, आराधना गरिरहेका छन् ।

टिप्पणीहरू