देउवा आउने, बिस्कुट चपाउने

देउवा आउने, बिस्कुट चपाउने

‘अब शेरबहादुरजी आउनुहुन्छ । चिया,बिस्कुट खानुहुन्छ । अनि,यो भेला पनि समापन हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भन्दा सबै गलगल हास्न थाले । हासोको क्रम सकिएको थिएन, सल्लाह नै गरेजस्तो शेरबहादुर पुग्नुभयो । सरासर चियाको कप भएतिर लम्कनुभयो ।

सहभागीहरू फेरि मुसुमुसु हास्न थाले ।

नभन्दै अन्तिममा पुग्ने शेरबहादुरलाई धन्यवाद दिदै कार्यक्रम समापन पनि भयो ।

बुधबार बेलुकी शीतल निवासमा सम्माननीय राष्ट्रपतिद्वारा आयोजित चियापान कार्यक्रमको दृश्य हो यो ।

त्यसअघि राष्ट्रपतिले सामुहिक फोटो खिच्ने कुरा गर्दै हुनुहुन्थ्यो ।

कुरा सुन्नासाथ ‘लु-लु, मलाई हतार भयो’ भन्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल निस्कनुभयो ।

अरु फोटो खिच्न भनेर उठिसकेका थिए । तर, झलनाथ निस्किएपछि सबै बसे । फोटो खिचिएन ।

पूर्वप्रधानमन्त्रीमध्ये लोकेन्द्रबहादुर चन्द पुग्नुभएन । उहाँको पर्खाईमा केही समय बित्यो । सुरक्षा च्यानलबाट खबर गयो, स्वास्थ्यका कारण नआउने भनेर ।

बोलाइएकामध्ये राष्ट्रपति निवासअघिल्तिर घर भएका पशुपतिसमशेर राणा पनि पुग्नुभएन ।

नेपाली कांग्रेसका सभापति देउवासहित रामचन्द्र पौडेल, महामन्त्री सशाङ्क कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, डा.रामशरण महत, ज्ञानेन्द्र कार्की पुगेका थिए ।

खिलराज रेग्मीसहित सबै पूर्वप्रधानमन्त्री त्यहाँ थिए । नेकपा सचिवालयका सबै थिए ।

चियापान भित्र र बाहिर गरेर दुई ठाँउ थियो ।

नेताका सहयोगी, सुरक्षाकर्मी र चालकहरूले बाहिर चियापान गरे भने सबै नेताले भित्रै सहभागिता जनाए ।

टिप्पणीहरू