स्थायी समिति बैठक शनिबारसम्म आइपुग्दा…

स्थायी समिति बैठक शनिबारसम्म आइपुग्दा…

सरकारका अति निकटबाहेक अरु सबैले सरकारको काम कारबाहीको चर्को आलोचना गरेको सन्दर्भमा अब ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अवस्थामा सरकारको नेतृत्वमा रहेका कमरेडहरू पनि रहनसक्ने अवस्था छैन । बहुमत छ भन्दैमा कसैले पनि विवेक गुमाउन नहुने अर्काथरी कमरेडहरूको पनि निचोड छ ।

गत बुधबारदेखि शुरु नेकपाको स्थायी समिति बैठकको दोस्रो दिन शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभयो । बैठकस्थलबाट मुश्किलले सय मीटरको दूरीमा रहनुभएका अध्यक्षले सरकारी काममा व्यस्त हुनुपरेकाले अर्का अध्यक्षको उपस्थितिमा बैठक सञ्चालन गर्दै गर्न र आफू पछिसम्म बैठकमा सहभागी हुने खबर महासचिवमार्फत् पठाउनुभएको थियो । तर बेलुकीसम्म पनि उहाँ बैठकमा उपस्थित हुनसक्नु भएन । कतिपयले सरकारी कामले व्यस्त हुनुपरेकाले र कतिपयले गाथमा आराम नभएकाले बताए पनि प्रधानमन्त्री सरकारी निवासको करेसामै भएको स्थायी समितिको बैठकमा पुग्न सक्नुभएन ।

शनिबारको तेस्रो दिनको बैठकमा भने शुरुमै पुग्नुभयो । तर,मुश्किलले पच्चिस मिनेट बसेपछि केहीपनि नबोली अर्का अध्यक्षलाई आफूलाई सञ्चो नभएको जानकारी गराएर हलबाट निस्कनुभयो । तीन दिनसम्म भएको बैठकको पाराले ‘समय मात्र घर्काइएको’ अर्थ लगाउन थालिएको छ । अर्को बैठक भोलि मंगलबार बिहान ११ बजे बोलाइएको छ । आइतबार तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्मजयन्ती र सोमबार असार १५ अर्थात् धान दिवस र दही चिउरा खाने दिन परेकाले बामदेवसहितको समर्थनमा बैठक मंगलबार पुगेको हो ।

बालुवाटारको त्यहि कम्पाउण्ड र त्यहि बैठक कक्षमा शुक्रबार र शनिबार स्थायी समितिको बैठकमा उपस्थिति जनाउन गाह्रो भएपनि आइतबार दिउँसो त्यहि ठाउँमा प्रधानमन्त्री गर्जनुभएको छ । तर,सन्दर्भचाहिँ  स्थायी समितिको बैठक नभएर मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको मदन भण्डारी जन्मजयन्ती कार्यक्रम हो ।

बैठकका सहभागीहरूलाई नजिकबाट नियालेका एकजना नेताका अनुसार ‘सहमतिबाट अघि बढ्नुको विकल्प नभएकोमा सबैजना देखिन्छन् ।’ सरकारपक्षीय समूह पनि त्यसैको वरिपरी रहेको बताइन्छ । तर, प्रधानमन्त्रीले मुख नखोलुञ्जेल उक्त समूहको कुनै अर्थ नरहने स्रोतको दाबी छ ।

हिजोका दिनमा जे भएपनि आगामी दिनको लागि अब सरकारसामु पार्टीको संस्थागत निर्णय मानेर हिँड्नुको विकल्प छैन । यतिखेर सरकारका अति निकटबाहेक अरु सबैले सरकारको काम कारबाहीको चर्को आलोचना गरेको सन्दर्भमा अब ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अवस्थामा सरकारको नेतृत्वमा रहेका कमरेडहरू पनि रहनसक्ने अवस्था छैन । बहुमत छ भन्दैमा कसैले पनि विवेक गमाउन नहुने अर्काथरी कमरेडहरूको पनि निचोड छ ।

सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाजलाई प्रधानमन्त्री निकटस्थ समूहले ‘चार वर्षअघि चीनसँग पारवहन सम्झौता गरेको कारण पहिलो पटक सत्ताबाट हठात् हटाइएको र यसपटक भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने पहल गरेपछि त्यहि नियति भोगाउन खोज्दैछन्’ भन्ने निचोड निकालेको बताइन्छ । तर,सरकारको कामकारबाहीले आगामी आवधिक निर्वाचनमा पार्टी कुन मुखले जनतासामु जाने भन्ने अर्काथरी कमरेडहरूको पिरलो छ ।

टिप्पणीहरू