कम्युनिष्ट बैठकमा ‘सामन्ती विभेद’

सर्वहारा र समानताको पर्याय बनेको कम्युनिष्ट पार्टीमा अचम्मको संस्कार भित्रिएको छ । नेकपाको जारी स्थायी समिति बैठकमा पुँजीवादी चरित्र र सामन्ती प्रवृत्तिको छनक देखिएको हो । यसअघि औपचारिक कार्यक्रममा यदाकदा देखिएको विभेद यसपटक बालुवाटारमा छताछुल्ल भएर पोखिएको छ ।

गत बुधबारबाट शुरु बैठकमा पहिलो दिन सचिवालयका सदस्यहरूलाई अग्लो मञ्च र अन्यलाई अलि होचो भागमा बसाइयो । मञ्चमा पनि अध्यक्षहरूको लागि सोफा र अन्यलाई काठको कुर्सी थियो । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालको कुर्सी केही पछाडि देखिने गरी राखियो ।

कुर्सी व्यवस्थापनमा विभेद भएको विषय उठेपछि दोस्रो दिन बैठक कक्षको मञ्चमा दुईजना अध्यक्षलाई पनि सोफाको सट्टा अन्यलाई झैँ काठकै कुर्सी राखियो । तर, त्यो दिन प्रधानमन्त्री बैठकमा उपस्थित नै हुनुभएन । आज चौथो दिनको बैठकमा स्थायी समितिका सबैजना एउटै रंग,साईज र आकारको कुर्सी तथा टेबुलमा समान सतहमा बसेका छन्  । तीन दिनसम्म सचिवालय सदस्यहरूलाई मञ्चमा आसिन गराएपनि आज अरुलाई जस्तै भुईंमा झारिएको छ ।

यस पटकको बैठकमा सिट मात्र होइन अरु कुरामा पनि विभेद र पनपच्छे गरिएको सहभागीहरूले नै बताएका छन् । बैठकस्थलमा चिया र खाजा उपलब्ध गराउँदा पनि सचिवालयका सदस्यलाई एउटा रंग र आकारको कप तथा प्लेटमा तथा अन्यलाई फरक रंगको कप तथा प्लेट प्रयोग गरिएको देखिन्थ्यो । बैठक कक्षमा छिर्ने ढोकामा पनि विभेद भयो । मन्त्री र सचिवालयका सदस्यहरूलाई निश्चित ढोकाबाट र अन्यलाई अर्कै ढोकाबाट छिर्ने बन्दोबस्तले पनि विभेद स्पष्ट हुन्छ ।

टिप्पणीहरू