नयाँ नेकपा (एमाले) दर्ता गर्ने को-को रहेछन् ?

एमाले र माओवादी केन्द्रबीच विधिवत एकतापछि अस्तित्वमा नरहेको नेकपा (एमाले) को नाममा दल दर्ताका निम्ति असारको १२ गते नै तयार पारिएको कागजात १६ गते बुझाइएपछि नेपालको राजनीतिक क्षितिजमा नयाँ तरंग सिर्जना भएको छ ।

यस्तो काम गर्ने मानिसहरु कस्ता रहेछन् भने, न जनाधार भएका, न लेखाईमा भाँती पुगेका न त राजनीतिक दल निर्माण गर्ने ल्याकतका । विवरणमा एकै व्यक्तिले सबैको हस्ताक्षर गरेजस्तो देखिन्छ ।

जनआस्थालाई प्राप्त निवेदन तथा केन्द्रीय कमिटीको विवरण हेर्दा राजनीतिक भूमिकामा कहलिएका कोही पनि व्यक्ति देखिँदैनन् ।

अध्यक्ष छिन्, विराटनगर महानगरपालिका– ६ की ४७ वर्षीया सन्ध्या तिवारी । उनी राजनीतिक भूमिकामा कतै पनि चर्चामा रहेकी व्यक्ति हैनन् ।

विराटनगरको वडा नं. ६ भनेको बरगाछीमा हो । यो कुरा बुझ्नासाथ त्यहाँका स्थानीय नेकपा कार्यकर्ता सन्ध्याको खोजीमा व्यस्त छन् । तर, तिवारी थर गरेका मधेसी वा पहाडे समुदायमा खोजी गर्दा सन्ध्या कतै भेटिएकी छैनन् ।

नेकपा मोरङका नेता पारुल क्षेत्री त्यही वडाका बासिन्दा हुन् भने जिल्ला अध्यक्ष महेश रेग्मी नजिकै कञ्चनबारीका हुन् । तर, सन्ध्यालाई यी कसैले चिनेका छैनन् ।
गेलु– १, रामेछापकी ३३ वर्षीया भगवती खड्का उपाध्यक्षका रुपमा पेश भएकी छन् ।

भगवती पेशाले प्रोफेसनल रेस्लर (व्यवसायिक मुक्केबाज) हुन् । उनी ‘भगवती खड्का (युनिका)’ का नामले फेसबुक चलाउँछिन् । ओखलढुंगासँगै जोडिएको रामेछापको गेलुमा आफन्तहरुको बसोबास भए पनि उनी लामो समयदेखि कोटेश्वरमा बस्दै आएकी छन् ।  पार्टी दर्ता प्रकरण चर्चामा आएदेखि मोबाइलको स्वीच अफ छ ।
महासचिवका रुपमा विवरण पेश भएका मनिषकुमार उपाध्यायले जनकपुर– २ धनुषाको ठेगाना उल्लेख गरेका छन् ।

पेश भएको विवरणमा सातै प्रदेशका सचिव पनि तोकिएको छ । त्यसमध्ये प्रदेश १ को सचिवमा रातापानी– ३, खोटाङ ठेगाना लेखेर २३ वर्षीया अस्मिता सुनारको नाम छ । प्रदेश २ को सचिवमा सुन्दरपुर– १ सर्लाही ठेगाना लेखेर ३७ वर्षीय दावा लामाको नाम छ ।

४१ वर्षीय जयराम राउत बागमती प्रदेश सचिवका रुपमा पेश भएका छन् । उनको ठेगाना सखुवा– ४ रौतहट छ ।
गण्डकी प्रदेश सचिवमा पर्वतका ४२ वर्षीय खगेन्द्रप्रसाद भुषालको नाम छ ।

अर्घाखाँचीकी ३५ वर्षीया राधा पुरी प्रदेश ५ को सचिव बनाइएकी छन् । कर्णाली प्रदेश सचिवमा डोल्पाका २७ वर्षीय हिराबहादुर बोहोरा छन् ।

बाजुराकी ७५ वर्षीया तारादेवी शाहीलाई सुदूरपश्चिम प्रदेश सचिवका रुपमा पेश गरिएको छ ।

त्यस्तै केन्द्रीय सदस्यहरु छन्, स्युचाटार– ४ काठमाडौंका पवन विष्ट, भद्रपुर– ६ झापाका निलम पोखरेल,  गोठाटार– ४ काठमाडौंका किरण लामिछाने, सर्लाहीका उमेश महतो, मानसिंहपट्टी– ३ धुनषाकी उषाकुमारी झा, गोठाटार, काठमाडौंका प्रदीपराज गिरी, दाप्चा– ३ काभ्रेकी पूर्णिमा तामाङ, प्रतापपुर–४ सिराहाका निश्चल बस्नेत, गोठाटार– ५ काठमाडौंका सञ्जिव विष्ट, छालिङ– ७ भक्तपुरकी विनिता कार्की र स्युचाटार– ५ काठमाडौंकी विमला विष्ट रोका ।

निर्वाचन आयोगलाई सम्वोधन गरेर बुझाइएको पत्रमा अदक्ष (हुनुपर्ने त अध्यक्ष थियो) को हैसियतले सन्ध्याले हस्ताक्षर गरेकी छन् ! उनको नागरिकता नम्बर १०४८/२१५१८ हो !

टिप्पणीहरू