दलबन्दीको दलदलमा गैंडाकोट नगरपालिका, फेरि तालाबन्दी
आर्थिक वर्षको अन्तिम महिनाको पनि आधा भन्दा बढी समय त गइसक्यो । धमाधम काम हुनुपर्ने यही बेला पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका कार्यालय भने बन्द छ । गत मंगलबार दुई विधेयकसहित २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट पारित भएपछि नगरपालिका कार्यालयमा तालाबन्दी भएको हो ।
गत आषाढ १० गते सातौं नगरसभामा प्रस्तुत उक्त विषयहरुउपर १६ गते छलफल तथा धारणा राख्ने कार्यक्रम थियो । सो क्रममा टाउको गनेर नगरप्रमुख छत्रराज पौडेलले आर्थिक विधेयक २०७७, विनियोजन विधेयक २०७७ एवम् नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित भएको बताए । त्यसपछि असन्तुष्टहरुको समूहले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ, जसको प्रभावले सिंगो नगरपालिका नै बन्द हालतमा देखियो । गैंडाकोट नगरपालिकाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुमा कांग्रेस र कम्युनिष्टबीच पानी बाराबार जस्तै स्थिति रहिआएको छ । कांग्रेसीहरुको समूहले यसअघि पनि तालाबन्दी गरेको थियो ।
‘तालाबन्दी आफैंमा एउटा दुःखद् कुरा हो, राम्रो परम्पराको विषय होइन, जुनसुकै कुराहरु सम्बन्धित निकायमा शिष्टतापूर्वक विधि, प्रक्रिया अनुरुप राख्नुपर्छ । कर्मचारीसँग असम्बन्धित विषयमा कर्मचारीको कोठामा तालबन्दी हुनु अत्यन्त दुःखको कुरा हो’, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले भने, ‘आर्थिक वर्ष समाप्तको अवस्थामा आएको छ, अहिलेको समयको सानो सानो अंश पनि धेरै महत्वपूर्ण हुन्छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला लगायत सामाजिक सुरक्षा दिनुपर्ने नागरिकहरुलाई यही मसान्तभित्र सरकारले नियमानुसार दिनुपर्ने सुविधाहरु उपलब्ध गराउनुपर्ने हुन्छ, विकास निर्माणका कामहरुको अन्तिमतिर पनि अनुगमन गर्नुपर्ने, भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तालाबन्दी गर्नु भनेको यी कामहरु गर्नुपर्दैन, नगरी बस भनेको अर्थमा बुझियो ।
कहिले कसको चित्त बुझ्दैन अनि अफिस तालाबन्दीको शिकार हुने हो ?’ यसखाले प्रवृत्तिले कर्मचारीहरुमा त्रास बढाएको उनले बताए । यसले दिनानुदिन सेवा प्रवाहमा पार्ने समस्या त छँदैछ, इतिहासमा राम्रो कार्यको रुपमा उल्लेख नहुने र भोलिका दिनमा पनि यस्तै प्रवृत्तिले प्रोत्साहन पाउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
नगर सभाका सदस्यहरुको सुझावलाई सम्बोधन नगरिकन नगरप्रमुखले पास भएको घोषणा गरेपछि असन्तुष्टहरुले तालाबन्दी गरेको बताउँदै उपप्रमुख विष्णुकुमारी कंडेलले भनिन्, ‘नगरप्रमुख र उपप्रमुखको कक्षमा गरेपनि प्रमुख प्रशासकीय अधिकृतको कोठामाचाहिँ तालाबन्दी गर्नु हुँदैन थियो ।’ यस विषयमा आफूले कुरा गर्दा असन्तुष्टहरुले माइन्युट असुरक्षित हुने तथा नभएका निर्णय लेखिनसक्ने कारणले प्रमुख प्रशासकीय अधिकृतको कक्षमा समेत तालाबन्दी गरेको भन्दै उनीहरुले निर्णयको प्रति मागेको उनले बताइन् । उपप्रमुख नेपाली कांग्रेसकी हुन् । एमालेबाट विजयी मेयर छत्रराज पौडेलले अरु केही नभएर यो तालाबन्दी पनि विगतको जस्तै कांग्रेसीकरण भएको बताए ।
– अजय गोर्खाली
टिप्पणीहरू