‘सक्ने भए अविश्वास प्रस्ताव ल्याएर मलाई हटाए हुन्छ’ : प्रधानमन्त्री

‘सक्ने भए अविश्वास प्रस्ताव ल्याएर मलाई हटाए हुन्छ’ : प्रधानमन्त्री

एक, दुई, तीन कुनै हालतमा पनि राजीनामा दिन्नँ । अविश्वास प्रस्ताव नल्याई हटाउन मिल्दैन । जो जसलाई हटाउन मन छ, उनीहरूले अविश्वासको प्रस्ताव ल्याए भइहाल्यो । ल्याउँछन् भने म फेस गर्न तयार छु ।

हिजोसम्म पनि प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने मुड र अडानमा हुनुहुन्छ । आफूनिकट नेकपा नेताहरूसँगको भेटमा हिजो प्रधानमन्त्रीले ‘एक, दुई, तीन कुनै हालतमा पनि राजीनामा दिन्नँ । अविश्वास प्रस्ताव नल्याई हटाउन मिल्दैन । जो जसलाई हटाउन मन छ, उनीहरूले अविश्वासको प्रस्ताव ल्याए भइहाल्यो । ल्याउँछन् भने म फेस गर्न तयार छु’ भन्नुभएको छ ।

नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवासँग बुधबार बेलुकी बालुवाटारमा गरेको छलफलपछि वहाँ दुबै पदबाट राजीनामा नदिने बरु अविश्वासको प्रस्तावको सामना गर्ने निर्णयमा पुग्नुभएको हो । संसदीय प्रक्रिया पूरा गरेर हटाउन चुनौती दिनुभएका प्रधानमन्त्रीले राजनीतिक भविश्यको लागि स्पेस राख्न खोज्नुभएको बताइएको छ ।

आफू निकटहरूसँग वहाँले ‘यतिखेरको नेकपा कुनै राजनीतिक पार्टीको रूपमा नदेखिएको र प्रचण्डसँग सम्झौता गरेर बनाइएको पार्टी संयन्त्रले राजनीतिक मूल्य मान्यतालाई बिर्सेको’ बताउनुभएको हो । पार्टी निर्णय भनिएको विषयलाई आफूले कुनै ‘भ्यालु नदिने’ पनि प्रधानमन्त्रीले बताउनु भएको छ । तर, बाहिर हल्ला चले झैँ आफूबाट पार्टीलाई हानी पुर्याउने काम नहुने भएकोले ढुक्क रहन उल्लेख गर्नुभएको स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्रीको हठ र नेकपाभित्र विकसित पछिल्लो घटनाक्रमले दुबै पक्ष पार्टी फुटाएको अपजस् आफ्नो थाप्लोमा नपरोस् भन्नेतर्फ सजग देखिन्छन् । प्रधानमन्त्री ओली पार्टीले जे निर्णय गरेपनि कार्यान्वयनमा टसको मस् नहुने रणनीतिमा बसेपछि बिरोधी समूहलाई थप कदम चाल्नको निम्ति स्वतः दबाब पर्नेछ । तर, प्रचण्ड–नेपाल समूहलाई पनि प्रधानमन्त्री हटाउनैको लागि कथम्कदाचित पार्टी फुटाउने निर्णय गरेपनि नयाँ सरकार बनाउन फलामको चिउरा चपाएसरह हुने देखिन्छ । बालुवाटार स्रोतले गरेको पछिल्लो जोड घटाउअनुसार नेकपाभित्रको अन्तरबिरोध सबैभन्दा खराब अवस्थामा पुगेपनि प्रधानमन्त्री हटाउन कम्तिमा दुई महिना लाग्ने छ ।

टिप्पणीहरू