नेकपा बैठक किन सर्यो ? अब के हुन सक्छ ?
आज शनिबार बिहान दुई अध्यक्ष बसेर छलफल गर्ने र ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक दुई दिनका लागि सरेको छ ।
आन्तरिक सहमतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमा दुई दिनको समय माग्नुभएका कारण बैठक सरेको भनिए पनि नेकपाका शीर्ष नेताहरु त्यो कुरा मान्न तयार छैनन् ।
‘पार्टीभित्रका नेता जो–जोसँग उहाँको कुरा हुनुपर्ने हो,भइसकेको छ । उहाँका कुरा र अरुका कुरा के हुन्,त्यो पनि प्रष्ट छ’,एक शीर्षस्थ नेताले जनआस्थालाई बताए, ‘अहिले थपिएको समय सहमतिका लागि होइन,चलखेलका लागि हो ।’
शुक्रबार प्रचण्डसँग पौने तीन घण्टाको कुराकानीमा कुनै न कुनै निश्कर्ष आउला भन्ने प्रधानमन्त्रीको अनुमान थियो । तर,त्यस्तो कुनै निश्कर्षबिना दुबै अध्यक्ष आ–आफ्ना अडानमा रहनुभयो ।
स्रोत भन्छ, बालुवाटारबाट फर्किएर प्रचण्डले खुमलटारमा र प्रधानमन्त्रीले बालुवाटारमै आ–आफ्ना सघन सहकर्मीसँग परामर्श गर्नुभयो ।
खुमलटार परामर्शमा प्रचण्डले दिउँसो प्रधानमन्त्रीसँग भएको कुराकानीको आध्योपान्त सुनाउनुभयो । उक्त जमघटले शनिबार (आज स्थगित) बैठकमा अन्तिमपटक प्रधानमन्त्रीको प्रस्तुति हेरौँ र बाटो तय गरौँ भन्ने निश्कर्ष निकालेको थियो ।
‘बाटो तय गरौँ’ को मतलब फेरि पनि प्रधानमन्त्रीले केही पनि छाड्दिन भनेमा स्थायी कमिटीमा राजीनामा दिने र नदिने पक्षको संख्याका आधारमा निर्णय गर्ने रणनीति थियो । तर,११ बजे बस्ने भनिएको बैठक ९ बजे स्थगित भएको खबर गरियो ।
सोमबारको पर्खाई
शनिबार सोमबार बस्ने गरी स्थगित भएको बैठक फेरि पनि बस्ला भन्ने निश्चित नभएको नेकपाका शीर्ष नेताहरु बताउँछन् ।
बैठक बसिहालेछ भने प्रधानमन्त्री नआउने सम्भावना उनीहरुले देखेका छन् ।
जनआस्थासँग कुरा गर्ने ती शीर्ष नेताले भने, ‘उहाँले आइतबार नै अर्को मुभ गर्नुहोला भन्ने अनुमान छ ।’
आइतबारे अनुमान
जसरी बुधबार स्थायी कमिटी बैठक बोलाएकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएर संसद स्थगितको सिफारिस गरियो, आइतबार यस्तैखाले ‘मुभ’ को अनुमान गरिएको छ ।
‘पार्टी नेतालाई थाहा छैन, जबकि बैठक त्यहीँ बसिरहेको छ । सभामुख पनि अचम्म मान्नुपर्ने गरी प्रतिनिधिसभाको चालु सेसन नै अन्त्यको सिफारिस भयो । त्यसैले प्रधानमन्त्रीले आइतबार दिनभरि र सोमबार फर्स्ट आवरभित्रमा केही उलटपुलट गर्नुभयो भने अचम्म मान्नुपर्दैन’, ती शीर्ष नेताले बताए ।
अनुमान छ,संसदीय दल विभाजन गर्ने कानुनी व्यवस्था संशोधन गरेर ३० प्रतिशतमा झार्ने । त्यसका लागि मन्त्रिपरिषद्को सिफारिस चाहिन्छ । ‘बिहान सिफारिस गर्ने, दिउँसो अध्यादेश जारी गर्ने र भोलिपल्ट बिहानै दल विभाजनको सूचना निर्वाचन आयोगमा दर्ता गराउने काम हुनसक्छ’, उनले बताए । यसअघि महेश बस्नेतहरुको अगुवाइमा नेकपा (एमाले) दर्ता गर्न लगिसकिएको छ !
तर पार्टी फुटाउनु र बिरालोको घाँटीमा घण्टी झुण्ड्याउनु दुबै पक्षका निम्ति उस्तै महाभारत हो ! एक पक्षले पार्टीको बहुमतका आधारमा कार्वाही गरे दुनियाँलाई त्यही निहुँ देखाएर पार्टी चोइट्याउने अर्को पक्षको तयारी छ भने अर्को पक्षबाट चाहिँ दल बिभाजनसम्बन्धी अध्यादेश जारी हुनासाथ त्यसैलाई अँठ्याएर केन्द्रीय कमिटी बैठक बोलाई हालका अध्यक्ष केपी ओली साधारण सदस्यसमेत नरहेको जानकारी निर्वाचन आयोगलाई दिने योजना बनिसकेको बताइन्छ !
मन्त्रीलाई स्ट्याण्डबाई
प्रधानमन्त्रीले सत्तारक्षाका नाममा संसदीय दल विभाजन वा कुनै हठपूर्ण कदम चालेमा प्रचण्ड–माधव पक्षले आफू पक्षका मन्त्रीहरुलाई राजीनामा दिने गरी स्ट्याण्डबाई रहन भनेको छ ।
भनिएको छ, ‘यदि अध्यादेश जारी गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा आयो भने अस्वीकार गर्ने र त्यहीँ राजीनामा दिएर फर्किने ।’
यो निर्देशनमा पूर्वमाओवादी केन्द्रका सबैसहित पूर्वएमालेका घनश्याम भुषाल र योगेश भट्टराई पनि पर्छन् ।
मन्त्रीमध्ये प्रदीप ज्ञवाली, घनश्याम भुषाल, वर्षमान पुन र योगेश भट्टराई पार्टी विभाजनको खतरा टार्न अभ्यासरत छन् । तर, प्रधानमन्त्री अध्यक्ष र प्रधानमन्त्रीमध्ये केही पनि छोड्न तयार नभएको कारण त्यो प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।
उनीहरु खुमलटार भेलामा गइरहेका छैनन् । कारण हो, मध्यस्थ भूमिका खेल्न ।
घनश्याम र योगेशले भनेका छन्, ‘निर्णायक अवस्थाको एउटा भूमिका छँदैछ,तर त्यसअघि नै हामी प्रतिक्रियात्मक (रियाक्टेड) भएर प्रस्तुत हुँदैनौँ ।’
खुमलटारको खबर
शनिबार बिहान अकस्मात् स्थायी कमिटी बैठक स्थगन भएपछि नेताहरुबीच फोन–फोनमा कुरा त भइरहेको छ । तर,आजै प्रचण्ड निवास खुमलटारमा जुट्ने वा नजुट्ने भन्नेबारे केही निश्कर्ष आएको छैन ।
‘भोलि दिउँसोसम्मको परिस्थिति हेरौँ,अनि बसौँला’, प्रचण्डले एक शीर्ष नेतालाई फोनमा भन्नुभएको छ ।
टिप्पणीहरू