लकडाउन लम्बिँदाको निर्देशन

लकडाउन लम्बिँदाको निर्देशन

सरकारले असार १ गतेदेखि केही खुकुलो बनाएको लकडाउनलाई साउन ६ गते मध्यरातसम्म लम्ब्याएको छ ।

पछिल्लो लकडाउनलाई पछ्याउँदै गृह मन्त्रालयले असार १६ गते जारी गरेको निर्देशनमा विदेशबाट हवाई वा स्थल मार्ग प्रयोग गरी आएका जुनसुकै नेपालीले आफ्नो घर वा निवासमै क्वारेण्टिनमा बस्न पाउने व्यवस्था गरिएको उल्लेख छ । तर त्यसरी क्वारेण्टिनमा बस्नेले सम्बन्धित वडा कार्यालय र प्रहरीको स्वीकृति लिनुपर्ने छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिमको मापदण्ड पनि पालना गर्नुपर्ने छ ।

गृह मन्त्रालयले पछिल्लो निर्देशनमा काज किरियाजस्ता सामाजिक कार्यको लागि नेपाल आउनैपर्ने नेपाली वा विदेशी राहदानीवाहक जोसुकैले पनि नेपाल आउनुपूर्व सम्बन्धित नेपाली नियोगबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

त्रिभुवन विमानस्थलको फ्रन्ट लाइनमा खटिने सबै सरकारी तथा वायुसेवा कम्पनीका कर्मचारीलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षासँग सम्बन्धित स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । त्यसैगरी विमानबाट मुलुक भित्रिने नेपालीहरूलाई तोकिएका होल्डिङ्ग सेन्टरसम्म लैजाने नेपाली सेनाका सवारी साधनलाई सरकारले थप इन्धन खर्च उपलब्ध गराउनेसमेत बताइएको छ ।

टिप्पणीहरू