ताप्लेजुङमा जहिल्यै जोखिम
ताप्लेजुङ जिल्ला प्रकोपको उच्च जोखिममा रहेको छ विशेषत आगलागी र बाढी पैरोबाट हरेक वर्ष बढी क्षती हुने गरेको पाइन्छ । आगलागी र बाढी पहिरो पछी भुकम्प, हुरीबतास र चट्याङ्ले क्षती पु¥याउने गरेको पाइन्छ । भूकम्पको टृष्टीले हेर्दा पनि यो जिल्ला उच्च जोखिममा रहेको बताइन्छ । यहाँको जमिन बढी भिरालो र कमजोर माटो भएको र औषत पानी पर्ने दर पनि बढी भएका कारण यहाँ बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञहरु बताउँछन् ।
ताप्लेजुङको शिरदेखि पाउसम्म बहने तमोर र कावेली खोलाका नदी किनारमा रहेका गाउँ बस्तीहरु उच्च जोखिममा रहेका छन् । हिमताल र अन्य माथिल्लो क्षेत्रका पोखरी फुट्दा होस वा गाउँ बस्ती र जङ्गल भिर पाखाहरुमा पैरो जाँदा यी तमोर र कावेली खोलाहरुमा असर पर्दछ , त्यसैले यी दुबै खोला किनारका बस्ती सजग रहनु पर्ने हुन्छ । जब नाङ्खोल्याङ त्रिवेणीमा तमोर र कावेली मिसिन्छन् त्यस पछि कावेली तमोरमा विलय भएर तमोर नामले तेह्रथुम, पाँचथर र धनकुटा क्षेत्रमा यो खोला बहन्छ । तमोरमा बाढी आए तेह्रथुम, पाँचथर र धनकुटालाई समेत असर पर्दछ र तमोरको मुलघाट सहित तमोर खोला किनारका बस्तीहरु जोखिममा रहेका छन् । यी जिल्लाहरु हुँदै तमोर सप्तकोशीमा पुग्दछ ।
ताप्लेजुङ क्षेत्रमा तमोर खोलाबाट ओलाङ्चुङ्गोला, तापेथोक बेंशीबस्ती, छिरुवा, शिवा, मित्लुङ, हान्दु्रङ, दोभान जस्ता साना बजार र थप अन्य बस्तीका घर, खेत र उत्पादनका हिसावले राम्रा मानिएका बैंशीहरु समेत उच्च जोखिममा रहेका छन् । ताप्लेजुङकै पूर्व क्षेत्रमा बहने कावेली खोला कञ्चनजंघाको मुहान भएर याम्फुदिनको थुङगिम बस्ती, तेल्लोक जोरपुल, सिनाम पञ्चमीका बस्तीहरु लगायतका गाउँ बस्ती हुँदै बहने भएका कारण यी बस्ती र यस खोलाका खोला किनार खेत बेंशीहरु पानीको बहाव बढ्दा वा बाढी आउँदा उच्च जोखिममा रहेका छन् । विशेषत यी खोला किनारका बस्तीहरुमा असार, श्रावण र भाद्र महिनामा हुने वर्षाद् र बढि पैरोका कारण जोखिम बढ्ने गरेको छ । ताप्लेजुङमा हरेक वर्ष हुने वर्षाद्बाट ठूलो धनजनको क्षती हुनेगरेको सर्वविदितै छ ।
ताप्लेजुङका चर्चित पैराहरु हाङ्देवा, ओलाङ्चुङगोला, नाङ्खोल्याङ, सिनाम थुम्बेदिनको हिरुवादिन, याम्फुदिन लगायतका पैरोहरु विगत भन्दा अहिले थामिदै गएर विस्तारै रुख बुटेनहरु बढ्न थालेता पनि कैयौ ठाउँमा नसोचेका स्थानहरुमा साना खोला खोल्सा बढ्ने र जमिन फुटेर पैरो जाने गरेको पाइन्छ । बर्षाद् बढि भएपछि जमिन फुटेर गएका पैरोले स्थायी पैरो बन्ने भन्दा पनि तत्काल गाउँ बस्तीमा गएका पैरोले धन जनको धेरै क्षती गर्ने गरेका छन् । आ.व. २०५४र०५५ साल देखिको तत्थ्याङ्कलाई आधार मान्दा ताप्लेजुङमा प्रतिवर्ष ५५ घरपरिवार आगलागीबाट र ६१ घरपरिवार बाढी पैरोबाट पूर्णरुपमा क्षती हुने गरेको देखिन्छ ।
ताप्लेजुङ्को विपद्मा उद्धार तथा राहातका लागि अग्रस्थानमा नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ् शाखा रहेको छ । यस शाखाका जुरेस, युरेस ११ वटा, उपशाखा २३ वटा र जिल्ला भरमा २४५६ जना आजीवन सदस्य, १०४ विशिष्ट र ८ जना यशस्कर सदस्यहरु सबै ग्रामिण भेकमा छरिएर रहेका उपशाखा आजीवन सदस्यहरु सबै उत्कृष्ट स्वयं सेवक रहेका कारण पनि नेरेसोको सञ्जाल र जनशक्तिले गाउँ गाउँमा भरपर्दो र छिटो काम गरिरहेको छ । उसको सञ्चारमा विश्वसनियता पनि भरपर्दो देखिएको छ । यहि कारण पनि हाल सम्मका धेरै प्रकोपमा उद्धार र राहातमा काम गरेका कारण यसका तत्थ्याङ्क नेरेसो ताप्लेजुङमा सुरक्षित रहेको पाइन्छ ।
नेपाल रेडक्रस ताप्लेजुङले पैरो पिडीतहरुलाई २०५९र०६० को पैरोबाट पिडीत भएका लिङ्खिम् र हाङ्देवा निवासीहरुलाई एकिकृत बस्ती बसाउन लिङ्खिमको ठौवा र हाङ्देवाको टाकुरेमा सुरुवात गरे ता पनि ती बस्तीमा विविध समस्याहरु भएको देखिदै आएका छन् । दुरदर्शीताको अभावमा एकिकृत बस्ती बसाउन खोजियो भने त्यसमा भएको लगानी वा अनुदान चाहेजती सदुपयोग नहुदो रहेछ एकिकृत बस्तीका लागी पानी, विद्युत, ढल, स्वास्थ्य, शिक्षा जस्ता पूर्वाधार हेर्ने गरिएता पनि मुख्य समस्या भने रोजगारी वा उत्पादन पर्दो रहेछ रोजगारी र उत्पादनले पिडीतलाई पहिलो प्रभाव पार्दो रहेछ । वेरोजगार र अनुत्पादक बनेर जस्तोसुकै राम्रा ठाउँमा भए पनि मानिस बस्न वा रहन नसक्ने रहेछ ।
ताप्लेजुङ विपद्को हिसावले अत्यन्तै जोखिममा रहेको छ भिर, पाखा, ढाँड, खोला, खोल्सा अत्यन्त भिरालो जमिन भएका कारण आगलागी, बाढी पैरो, भूकम्प जस्ता प्रकोपको जोखिम देखिन्छ । प्रकोप नियन्त्रणका लागी पूर्व तयारी गर्नु पर्ने भएता पनि स्थानीय सरकार भने प्रकोप नियन्त्रण पूर्व तैयारीमा भन्दा विकासका नाममा पाखा जमिनहरुमा स्काईभेटर चलाएर जमिनमा भाइब्रेसन दिई जमिन कमजोर बनाउदै पानीको बहावहरु परिवर्तन गरेर बाढी पैरो निम्त्याउने कार्यमा अग्रसर भएको देखिन्छ । यस कार्यलाई रोकिएन र यहि गतिमा स्काईभेटर कुदाइरहने हो भने प्रकोप अझ भयावह बन्दै जाने भन्दै स्थानीय व्यक्तित्वहरु बढी चिन्तित भएका छन् ।
टिप्पणीहरू