गोरखापत्रमै गडबडी

गोरखापत्रमै गडबडी

“गणतन्त्र नेपालको बहुभाषी राष्ट्रिय दैनिक” भनेर मास्टहेडमा लेख्ने गोरखापत्र दैनिकले त्यहाँ आबद्ध मातृभाषी सञ्चारकर्मीहरुको पारिश्रमिक कटौती गरेको छ ।

गोरखापत्रमा हरेक दिन दुई पृष्ठ नेपालीबाहेकका राष्ट्रिय भाषाका सामग्री छापिने गरेकोमा  लकडाउन शुरु भएपछि एकपृष्ठ त कहिलेकाँही आधी पृष्ठमा सिमित गरिएको थियो । सोहीअनुरुप पारिश्रमिक कटौती गरिएको नयाँ नेपालकर्मीहरुले बताएका छन् ।

यसरी पृष्ठ घटाएवापत संस्थानले भाषाभाषीका पृष्ठ संयोजकलाई चैत, वैशाख र जेठ महिनाको पारिश्रमिक पनि घटाएको छ ।

कोरोना महामारीको विपद्का बेला संस्थानको पारिश्रमिक कटौतीमा ३८ वटा भाषाका सञ्चारकर्मी परेका छन् । न्यून पारिश्रमिकमा काम गरिरहेका विभिन्न मातृभाषाका सञ्चारकर्मी संस्थानको यो निर्णयले आहत भएका छन् । लेख, रचना संकलन, प्रकाशन र सम्पादनवापत प्रति पृष्ठ ६ हजार रुपैयाँ संस्थानले भाषाभाषीका सञ्चारकर्मीलाई दिने गरेको छ । दिनहुँ २ पेज नयाँ नेपाल पृष्ठअन्तर्गत मातृभाषाका पेज छापिदा १२ हजार पारिश्रमिक पाउने सञ्चारकर्मीलाई लकडाउन शुरु भएपछि कटौती गरेर मासिक ६ हजार रुपैयाँ मात्र दिइएको छ ।

वैशाख १५ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सरकारी निकाय र उद्योगमा कार्यरत कर्मचारीलाई खाइपाइ आएको तलबभत्ता लकडाउन अवधिमा पनि नकाटिने सूचना प्रकाशित गरेको थियो  । सरकारले एकातर्फ सरकारी निकायलाई श्रमिकको तलब नकाट भनेर सूचना जारी गरिरहँदा सरकारी अखबारका श्रमजीवीको पारिश्रमिक काट्नु जायज नभएको गुनासो छ !

टिप्पणीहरू